२०८१ बैशाख १२ , बुधवार

अरुलाई गालीगलौज नगरी मत माग्न प्रमुख आयुक्तको आग्रह

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या नगरी आफ्ना राम्रा कुरा गरेर निर्वाचन प्रचारप्रसार गर्न दलका नेता र उम्मेदवारलाई पुनः आग्रह गर्नुभएको छ ।

 

आसन्न निर्वाचनका सन्दर्भमा टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले काठमाडौँमा आयोजना गरेको नागरिक संवादमा उहाँले भन्नुभयो, “मैले त भन्दै आएको छु । १५ मिनेट आफू गतिलो छु भन्न १३ मिनेट अरुलाई गाली गर्ने र चरित्र हत्या गर्ने साहित्य कहाँ पढेर आउनुभयो नेताज्यू ?”

 

उहाँले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर मत माग्ने र मत दिने वातावरण सिर्जना गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त डा भोजराज पोखरेल, पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, संविधानविद् नीलाम्बर आचार्य, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतसँग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहितरुपमा सम्पन्न गराउने सन्दर्भमा नागरिक संवाद गरिएको थियो ।