२०८० चैत्र १५ , बिहिवार

घोषणा पत्रका कुरा पुरा गर्छु लेमिनेशन गरेर राख्नुस् : भण्डारी

सुनाखरी न्युज/ काठमाडौं । कास्की क्षेत्र नं. २ (१) प्रदेशसभा सदस्य उम्मेदवार विजय बहादुर भण्डारीले घोषणापत्रमा लेखिएका हरेक कुरा पुरा गर्ने बाचा गरेका छन् ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेका उनले पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनमा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले आफुले प्रदान गरेको घोषणापत्र लेमिनेसन गरेर राख्न मतदातालाई आग्रह गरेका हुन् । मुलुकको सार्वभौमिकता ,स्वाधिनता, राष्ट्रिय अखण्डता, समृद्धि, प्रजातन्त्र र सुशासन जस्ता मुल आधारभुत नारा बोकी आफ्नो चुनावी अभियान तिब्र रुपमा अगाडी बढाएका उनले आफु जनताकै लागि उम्मेदवार बनेको सुनाए । उनले पर्यटन प्रवद्र्धन भाषा,भेषभुषा, कला, सनातन धर्म संस्कृति र रितिरिवाजको जर्गेना गर्न र यसको पहिचान जोगाइ राख्न राप्रपालाई अत्याधिक मत दिएर विजयी गराउन आग्रह गरे ।

 

वडाबासिहरुले ठूला राजनिति पार्टीहरुले देश र जनताको हितका लागि काम नगरेका कारण राप्रपा बाहेक कुनै पार्टीको विकल्प नभएको सुनाए । उनीहरुले भण्डारीलाई भव्य सम्मान र स्वागत गर्दै अग्रिम शुभकामना समेत दिएका छन् । भण्डारीलाई मतदाताहरुले फुलमाला,टिका लगाएर युवा जनशक्ती नै देश विकासको एकमात्र शक्ती भएको भन्दै अब बुढा नेता र बुढो पार्टीलाई सदाको लागी राजनितिबाट विदा गर्नुपर्ने बताए । चुनावी घरदैलो अभियानमा भण्डारीले ठूला राजनिति पार्टीहरुले गणतन्त्र आएपछि धेरै देशघाती संझौताहरु गरी नेपाल र नेपालीहरुको भविष्यमाथी कुठाराघात हुने काम गरी देशलाई बिश्वसामु कमजोर बनाई देशको पहिचान मेटाउन लागेको आरोप लगाए ।

 

‘दिन प्रतिदिन देशको आर्थीक अवस्था कमजोर बन्दै गएको देखेर देश र नेपालीको पहिचान बचाउन मेरो उमेरद्धारी हो । चुनावी घोषणापत्रमा भनेका र लेखेका कुरालाई पुरा गर्छु’ उनले भने, ‘यसमा कुनै शंका नगरी मेरो घोषणा पत्रलाई नच्याँति लेमिनेशन गरी सुरक्षित गरेर राख्नुहोस् ताकी भोली म विजयी भएर आएपछि काम गरेन भने देखाउनुहोस् ।’आफुले जितेमा प्रदेशका पर्यटन क्षेत्रको पहिचान गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीमैत्री वातावरण सिर्जना गर्ने र स्वरोजगार बढाई देशको आर्थीक क्षेत्रमा उल्लेखनिय बृद्धि गर्दै लैजाने बाचा समेत गरे । गण्डकी प्रदेश भित्रका बिपन्न वर्गलाई लक्षित गरी रासन कार्डको ब्यवस्था समेत गर्ने प्रतिबद्धता व्यक्त गरे ।