२०८१ बैशाख ११ , मंगलबार

काठमाडौं–५ बाट निर्वाचित भएपछि आफैंमाथि छानविन गर्ने नागरिक अगुवा सम्मिलत समिति गठन गर्छु : नेता पौडेल

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं–५ बाट निर्वाचित भएपछि आफैंमाथि छानविन गर्ने नागरिक अगुवा सम्मिलत समिति गठन गर्ने बताएका छन्।

 

बुद्धिजिवी तथा पेशागत समूहले शनिबार काठमाडौंको विशाल नगरमा आयोजना गरेको अन्तरक्रियामा उनले आफैं माथि छानविन गर्ने समिति गठन गर्ने बताएका हुन्। ‘हामीले भनेका छौं, हामी माथि नै छानविन गर्ने एउटा नागरिक छानविन समिति बनाइनुपर्छ। त्यसको सुरुवात हामीले गर्ने छौं,’ काठमाडौं–५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पौडेलले भने। उनले उक्त समितिको छानविनका क्रममा गलत सवित भए सांसद पद नगए पनि अर्को पटक निर्वाचनका लागि आफू अयोग्य हुने पनि जिकिर गरे। ‘समितिले हामीमाथि छानविन गर्दा गलत सावित गर्यो भने हाम्रो सांसद पद जाँदैन,’ पौडेलले भने, ‘तर, अर्को पटक हामी गलत ठहरियौं भने चुनाव जित्दैनौं। जनताका बीचमा हामी नांगिन्छौं। मिडियाले हामीलाई बर्बाद गरिदिन्छ।’

 

विश्वका अन्य देशहरुमा जस्तो ‘राइट टु रिजेक्ट’ को व्यवस्था नेपालमा पनि लागु हुनु पर्नेमा उनको जोड थियो। ‘यो यसकारणले आवश्यक छ कि संसारमा यस्तो पनि व्यवस्था छ, राइट टु रिजेक्ट,’ पौडेलले भने, ‘५ वर्षका लागि चुनिएको एउटा सांसद गलत काममा मुछियो भने उसलाई गरेको समर्थन फिर्ता लिने व्यवस्था दुनियाँ म छ, यहाँ पनि हुनुपर्छ।’उनले निर्वाचन जितेको एक वर्षभित्रै काठमाडौं–५ को बाटोघाटो, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने प्रतिवद्धतासमेत जनाए। पौडेलले मतदातासँग ‘डिजिटल कनेक्टिभिटी’ सहज बनाउन ‘एप्स’ विकास गरेर काम अघि बढाउने पनि बताए।

 

‘मतदातासँग डिजिटल कनेक्टिभिटी सहज बनाउँछौं। हामी एउटा एप्सको विकास गर्छौं। कहाँ खाल्डो परेको छ त्यसमार्फत् जानकारी गराइदिनुस्। हामीले जानकारी प्राप्त गरेको ५ दिनभित्र त्यो खाल्डो पुरिसक्छौं,’ उनले भने, ‘कहाँ ढल फुटेको छ त्यसको पनि हामीलाई जानकारी गराइदिनुस्। स्थानीय तहको सहयोग लिनुपर्ने हो कि कसको सहयोग लिनुपर्ने हो, कसको सहयोग लिने हो सहयोग लिएर हामी त्यसको तत्काल समस्या हल गर्छौं।’

 

आफू सांसद विकास कोषको हिमायती नभए पनि सांसद विकास कोषको रकम लगानीका लागि नागकिर अगुवाहरुको समिति निर्माण गरेर काम गर्ने पनि पौडेलले प्रतिवद्धता जनाए। ‘सांसद विकास कोषको म विरोधी हुँ। तर, म मात्र विरोधी भएर हुँदैन। सांसद विकास कोषको पैसालाई कहाँ लगानी गर्ने त्यसको निम्ति नागरिक अगुवाहरुको एउटा समिति बनाइने छ। समितिले छनौट गरेको योजनाहरुमा पैसा हाल्ने व्यवस्था गर्ने छौं,’ उनले भने।