२०८१ बैशाख १४ , शुक्रवार

बुद्ध एअर अन्तर्राष्ट्रिय गोल्डकप फुटबल

सुनाखरी न्युज/ काठमाडौं । बेलबारी, डांगीहाट (मोरङ) । सहारा क्लब पोखराले भोली (शनिबार) मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारी पाँचौ संस्करणको बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय सशस्त्र प्रहरी बलको एपीएफ (काठमाण्डौं) सँग खेल्दैछ ।

 

बेलबारीको लक्ष्मीमार्ग डाङ्गीहाट युथ क्लबले आयोजना गरेको प्रतियोगिताका लागि पोखराको सहारा क्लब खेल खेल्न आज (शुक्रबार) विहान बेलबारी आई पुगेको छ। यस प्रतियोगितामा सहाराको पहिलो सहभागिता हो । १० टिम सहभागी प्रतियोगितामा सहारा र एपीएफले सिधै वाइ पाएर क्वार्टरफाइनल खेल्ने भएको हो। युवा खेलाडी सम्मिलित सहारा र पछिल्लो समय फुटबलमा उदाउँदै गरेको एपीएफबीच कडा प्रतिस्पर्धा हुनेछ । पूर्व राष्ट्रिय खेलाडी, राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट समावेश खेलाडी र सहारा एकेडेमीका युवा खेलाडीहरुले सहाराको टिम बनेको छ । त्यस्तै, फुटबलमा एपीएफले पछिल्लो समय सुधारिएको खेल प्रस्तुत गर्दै एकपछि अर्को सुखद नतिजाहरु निकालेर उपाधिहरु हात पार्दै आएको छ । यस प्रतियोगिताको गत संस्करणको उपविजेतासमेत रहेको एपीएफ फाइनलमा हिमालयन शेर्पासँग हारेको थियो ।

 

भर्खरै मात्र पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदको फुटबलमा स्वर्ण जितेको छ । नवौं राष्ट्रिय खेलकुदमा विभागीय आर्मीलाई सडेन डेथमा हराउँदै एपीएफले स्वर्ण जितेको हो । एपीएफ, गत वर्ष पोखरामा सम्पन्न आहा रारा गोल्डकपको डिफेण्डिङ च्याम्पियन समेत हो । गत वर्ष आहा रारा गोल्डकपको फाइनलमा मनाङ मस्र्याङ्दीलाई हराउँदै एपीएफ च्याम्पियन बनेको थियो । सहाराका प्रशिक्षक सुनिल रानाले भोली एपीएफसँगको खेलमा पूर्व राष्ट्रिय खेलाडी अजित भण्डारीको कप्तानीमा पूर्व राष्ट्रिय गोलरक्षक विमल थापासहित गण्डकी प्रदेशका उत्कृष्ट खेलाडीहरु आशिष गुरुङ, सरोज योञ्जन, रन्दीप पौडेल,जय गुरुङ, भिषन गुरुङ तथा यु–२० का राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ, दिपेश आले, सन्तबहादुर गुरुङ र सहारा एकेडेमीकै मुकुन्द न्यूरेलाई प्लेइङ–११ मा उतार्नेछन् ।

 

सहारा एकेडेमीका रोमन थापा (गोलरक्षक) अभिषेक राना, अनिषपोमु लिम्बु, नवराज धमेल, विशाल नेपाली, भागवत चौधरी र जीवन रायमाझी सब्सीच्युट खेलाडी रहनेछन् । सहाराका कप्तान अजित भण्डारीले एपीएफसँगको खेल टप हुने बताए। उनले भने, ‘भोलीको खेलमा एपीएफका लागि सहारा चुनैती बन्नेछ । प्रतिस्पर्धी एपीएफसँगको खेल फिफ्टी÷फिफ्टीकै हुनेछ ।’ त्यस्तै, प्रशिक्षक सुनिल रानाले पनि फुटबलमा हाई मोटिभेट भएको एपीएफलाई होल्डमा राखेर नतिजालाई आफ्नो पक्षमा पार्ने खेल पस्कने प्रतिक्रिया दिए । व्यवस्थापक अतित गुरुङले सन्तुलित सहाराको टिम बनाएको उल्लेख गरे। उनले भने, ‘जित्नका लागि बेलबारी आएका हौं, एपीएफसँग उत्कृष्ट खेल पस्कन्छौ ।’

 

प्रतियोगितामा सहारा क्लब पोखरासहित आयोजक डांगीहाट युथ क्लब (मोरङ, बेलबारी), सशस्त्र प्रहरी बल (एपीएफ) काठमाण्डौं, सहलेस युथ क्लब (सिराहा), राजारानी फुटबल क्लब (धनकुटा), रोलिङ क्लब धुलाबारी (झापा), पेम्बा युथ क्लब (विराटनगर), भारतको एमएम एफसी (वेष्ट बंगाल), युनाईटेड ब्रदर्श (कालिम्पोङ) र एभिनियर फुटबल क्लब (क्यामरुन) ले सहभागिता जनाएको छ ।प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगदसहित ट्रफी पुरस्कार पाउनेछन् । यस वर्ष पुरस्कार राशी बढाएको आयोजक डांगीहाट युथ क्लबले जनाएको छ । गत वर्ष पुरस्कार राशी विजेताको ५ लाख र उपविजेताको २ लाख ५० हजार थियो ।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगद पाउने क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक विक्रम बान्तवाले जनाएका छन् । वान्तवाका अनुसार उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही १५÷१५ हजार पुरस्कार पाउनेछन् । उत्कृष्ट प्रशिक्षले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछ।

 

आजको खेल

प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा सहलेस युथ क्लब सिराहाले क्यामरुनको एभिनियर फुटबल क्लबलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । सिराहाका लागि दुबै गोल फोडे फोफोनाले २ गरे । फोफोनाले खेलको ७ औं र ६७ औं मिनेटमा गोल गरे । फोफोनाले दास्रो गोल पेनाल्टीमा गरेका थिए ।
एभिनियरका लागि एकमात्र गोल सोङले गरेका हुन् । सिराहाका पेपे म्यान अफ दी म्याच बने ।