२०८१ बैशाख ३१ , सोमवार

कोरोना बीमाको १ अर्ब ८१ करोड रकम बाँड्ने तयारी, कसले पाउँछन् पहिला ?

सुनाखरी न्युज/ काठमाडौं ।
भुक्तानी हुन बाँकी कोरोना बीमा बापतको रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने भएको छ । सरकारले दिएको १ अर्ब रुपैयाँ र बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी तथा निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले हालेको ८१ करोड रुपैयाँ जम्मा गरेर १ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्न लागिएको हो ।

सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर थप ४५ प्रतिशत रकम बीमा समिति, पुनर्बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट जुटाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले पहिला नै अर्थमन्त्रालयमा पठाएको प्रस्ताव अनुसार सरकारले दिएको रकमलाई ५५ प्रतिशत मानिएको उनको भनाइ छ ।

बीमा समितिले तयार पारेको विकल्प अनुसार सरकारले दिएको १ अर्ब रुपैयाँ भनेको ५५ प्रतिशत हो । यसमा बीमा समितिले ८ प्रतिशत अर्थात १४ करोड ५४ लाख रुपैयाँ दिनेछ । यस्तै, पुनर्बीमा कम्पनीले १२ प्रतिशतले हुन आउने रकम २१ करोड ८१ लाख रुपैयाँ दिनेछ भने अहिले संचालनमा रहेका २० वटा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले २५ प्रतिशतले हुन आउने रकम ४५ करोड ४५ लाख रुपैयाँ जम्मा गर्नेछन् । एउटा बीमा कम्पनीले करिब २ करोड २७ लाख रुपैयाँ दिनुपर्ने भएको छ ।