२०८१ बैशाख ७ , शुक्रवार

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं ।
आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधिबीच वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल भएको छ । विभागको केन्द्रिय कार्यालय लाजिम्पाटमा शुक्रबार भएको छलफलका क्रममा सुनचाँदी जस्ता वहुमुल्यवस्तुको कारोबारगर्दा ब्यवसायीले पुरागर्नुपर्ने प्रावधानका बारेमा जानकारी गराइएको थियो । त्यसक्रममा अवैध सम्पत्ति शुद्धिकरण र त्यसवाट पर्ने प्रभावका बारेमा समेत ब्यवसायीहरुलाई जानकारी गराइएको थियो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वको महासंघको प्रतिनिधीमण्डल सँग भएको छलफलमा विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डेय, निर्देशक द्धय मित्रलाल अधिकारी र हरि वस्याल लगायतको सहभागिता रहेको थियो । त्यसक्रममा महासंघका तर्फवाट महासचिव धर्मशुन्दर वज्राचार्य, कोषध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

त्यसक्रममा विभाग र ब्यवसायीवीच यस किसिमका छलफलका कार्यक्रम आवश्यकता अनुसार आयोजना गर्दै जानुपर्ने आवश्यकता औंल्याइएको थियो ।