२०८१ बैशाख १३ , बिहिवार

मोटरसाइकल र स्कुटर ठोकिँदा एकको मृत्यु , तीन जना घाईते

 

सुनाखरी न्युज / भक्तपुरको सानो थिमिमा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन । घाईते मध्ये दुई जनाको उपचार भइरहेको छ । एक जनाको सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

 

प्रहरीका अनुसार हिजो साँझ मध्यपुर थिमि नगरपालिका वडा नं। २ सानो थिमि हलेसी मार्ट नजिकको भित्रि सडकमा बागमती ए एए २६८७ नं। को स्कुटर र बागमती प्रदेश –०२–०३७ प १८५२ नं।को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा स्कुटी चालक मध्यपुर थिमि नगरपालिका वडा नं। २ मगरगाउँ बस्ने ३५ वर्षिया पुष्पा थापा मगर, उनका ७ वर्षिय छोरा समर्जन थापामगर र मोटरसाईकल चालक झापा कमल गाउँपालिका घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं। २ बालकोट बस्ने १८ वर्षिय करण दाहाल र मोटरसाईकलमा पछाडी सवार धादिङ गजुरी गाउँपालिका वडा नं। ७ घर भई हाल काठमाडौं नयाँबजार बस्ने १७ वर्षिया आयुषा सुवेदी घाईते भएका थिए ।

 

 

घाईते मध्ये आयुषा सुवेदीको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिमा उपचारको क्रममा मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । त्यस्तै घाईते मध्ये पुष्पा र समर्जनको बि एण्ड बि अस्पताल ललितपुर ग्वार्कोमा उपचार भइरहेको छ । अर्का घाईते करण नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचारपछि डिस्चार्ज भएको र प्रहरीको नियन्त्रणमा रहेको प्रनाउ पाण्डेले बताउनुभयो । दुर्घटनामा संलग्न दुबै सवारी साधन प्रहरी प्रभाग सानोथिमीको नियन्त्रणमा रहेको प्रनाउ पाण्डेले बताउनुभयो ।