२०८१ बैशाख १५ , शनिवार

मतदातासँग प्रदीपको बाचा :‘तपाईँको समस्या सदनमा निर्भिक भएर बोल्नेछु’

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलले संसदमा आफूले जनताको आवाज निर्भिक भएर बोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

बिहीबार काठमाडौं क्षेत्र नं ५ अन्तर्गत वडा नं ५ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् । ‘संसदमा निर्भिक भएर बोल्ने मान्छेको खाँचो छ, हामी संसदमा तपाईँका समस्याहरु निर्भिक भएर बोल्नेछौँ ।’ नेता पौडेलले भने । आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–५ को समग्र विकासको खाका बारे बताउँदै उनले सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व गर्ने समेत बताए । ‘ काठमाडौं क्षेत्र नं ५ हेरेपछि सबै देश देखिन्छ ।’ उनले भने, ‘यहाँ भएका मुख्य प्रशासनीक भवनदेखि कला कौशलका कारण पनि सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व हुन्छ ।’

 

त्यसैगरी काठमाडौं ५ को मात्र नभइ काठमाडौंमा रहेका विद्यालयहरुलाई बुढानिलकण्ठस्तरको बनाइने प्रतिबद्धता व्यक्त गरे । राज्यबाट स्रोत नपाएमा आन्तरिक स्रोत साधनको परिचालन गरेर भए पनि सबै शिक्षालयहरुको गुणस्तर बनाउनेमा जोड दिए । ‘यहाँका सबै शिक्षालयहरुलाई बुढानिलकण्ठस्तरको बनाउन सकिन्छ ।’ उनले भने, ‘राज्यले स्रोत नदिएमा आन्तरिक स्रोत साधनबाट भए पनि काठमाडौं क्षेत्र नं ५ मा रहेका सबै शिक्षालयहरुलाई बुढानिलकण्डस्तरको बनाउन पहल गर्नुपर्छ ।’ त्यसैगरी देशमा भएको बौद्धिक पलायनको कारण मुलुक निर्माण हुन नसक्ने बताए । त्यस्तै बौद्धिक वर्ग पलायन गरि अन्य सामग्री आयात भइरहेकोबारे टिप्पणी गर्दै उनले भने, ‘ब्रेन ड्रेनको समस्या छ । एउटा देश जो वौद्धिक नागरिकहरुलाई जोगाएर राख्न सक्दैन । भने त्यो देशको विकास कताबाट हुन्छ ? सबै कुरा आयात गरेर मात्रै देश समृद्ध हुन सक्दैन ।’

 

यसअघिका निर्वाचनमा कांग्रेसबाट जित हासिल गरेका कांग्रेस नेता नरहरि आचार्यको प्रशंसा गर्दै आफू सोही मार्गबाट विकासको काम अघि बढाउने बताए ।