२०८१ बैशाख १३ , बिहिवार

९ प्रतिशतले टिकट पाएका छौं, मतदाताले विजेता घटाउनुहुन्नः मीना

सुनाखरी न्युज/ काठमाडौं । कास्की २ (२) मा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । यो क्षेत्रबाट गएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार राजकाजी गुरुङ (करण)लाई पराजित गर्दै विन्दुकुमार थापा निर्वाचित भएका थिए । गण्डकी प्रदेशका कानुन मन्त्री रहेका थापा फेरि जित दोहो¥याउने पक्षमा छन् ।

 

थापाको प्रतिश्पर्धा एमाले उम्मेदवार मिना गुरुङसँग हुने देखिन्छ । गुरुङ गण्डकी प्रदेशकी निवर्तमान सांसद हुन् । उम्मेदवारीका कारण, एजेन्डा र भावी योजनाबारे एमाले उम्मेदवार गुरुङसँग गरिएको कुराकानीको सारसंक्षेपः

 

कास्की २ (२)बाट उम्मेदवार हुनुहुन्छ, जितको शुभकामना छ । यस्ता शुभकामनालाई सार्थक बनाउने तपाईका कस्ता योजना छन् ?

गएको कार्यकालमा समानुपातिकबाट सांसद हुँदा जनताको रोजीरोटीसँग जोडिने केही काम मैले गरेँ । विकास, योजनाका लागि पहल गरेँ । अझै केही काम अपूर्ण छन्, केही कामलाई अझ प्रभावकारी रुपमा गर्नुपर्ने मैले महसुस गरेँ । यसपालि प्रत्यक्षमा जनताबाट अनुमोदित भएर ती काम पूरा गर्छु भन्ने मेरो संकल्प छ ।

अर्काे कुरा महिला सधै समानुपातिकमा मात्रै रहनुहुँदैन । महिलाले योग्यता, क्षमता बढाउँदै समानताका लागि अघि बढ्नुपर्छ । हामी पनि पुरुषसरह जिम्मेवारी बहन गर्न सक्छौं, समाजका लागि, देशका लागि समाजका लागि । यो कुरा प्रमाणित गर्न पनि मैले प्रत्यक्षमा उम्मेदवारी दिन चाहे, पार्टीले मलाई अघि सा¥यो । अहिले म जनताका माग सुन्दै छु, शुभेच्छा लिँदै छु । चुनावको तयारी गर्दै छु ।

 

एमालेभित्रै गण्डकी प्रदेशमा देखिएका दुई गुट छन् । तपाईको उम्मेदवारीचाहिँ कसरी सम्भव भयो ?

हाम्रो पार्टीमा गुट, उपगुट छन् भनेर धेरै हल्ला मच्याइएको छ । मेरो नजरमा एमालेमा गुट छैनन्, वैचारिक सम्बन्धका केही समूह होलान् । एउटा जीवन्त र विशाल पार्टीमा दशौं लाख कार्यकर्ता हुन्छन् । हजारौं नेता हुन्छन् । उनीहरुका आकांक्षा, सपना, कार्यशैली फरक हुन्छन् । हाम्रो पार्टीमा विभिन्न अरु स्कुलिङबाट आएका नेता, कार्यकर्ता छन्, विभिन्न क्षेत्र, जाति, समूहका मानिस छ ।

तर पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा हामी एक छौं । कतै समस्या छैन । हाम्रो एकताको सामना गर्न अरु सबैजसो दल गठबन्धन बनाएर आउनुपरेको छ । हो, टिकट वितरणअघि हामीबीच प्रतिश्पर्धा थियो, तर पार्टीले निर्णय गरिसकेपछि हामी सबै एक छौं । मसँगसँगै टिकटको आकांक्षा राख्नुभएका साथीहरु, मेरो क्षेत्रका नेता, कार्यकर्तालाई तपाईहरुले चुनावी अभियानमा मसँगसँगै देख्न पाउनुहुन्छ । यहाँहरु आफ्नो पार्टीलाई जिताउन लाग्नुहुन्छ । एमालेको शक्ति भनेकै यही हो, आन्तरिक प्रतिश्पर्धा पनि हुन्छ, एकमत भएर पार्टीलाई, आफ्ना उम्मेदवारलाई जिताउन पनि हामी परिचालित हुन्छौं ।

 

बहालवाला मन्त्री, स्थापित व्यवसायी, अघिल्लो पटक वाम गठबन्धन हुँदा पनि विजयी बनेका व्यक्तित्वसँग तपाईको मुख्य प्रतिश्पर्धा देखिन्छ । तपाईका जित्ने आधार के छन् ?

गएको कार्यकालमा म समानुपातिकबाट उहाँ प्रत्यक्षबाट सांसद बनेका हौं । दुवैको पद समान हो, जिम्मेवारी समान हो । सरकार बनाउने कुरामा उहाँ कार्यकारी भूमिकामा पुग्नु भयो । हामीले प्रतिपक्षको रुपमा खबरदारी ग¥यौ । जनपक्षीय कामका लागि आवाज उठायौं ।

 

एउटा महिलाले सधै इमान्दारितापूर्वक, नमुना बनेर काम गर्न सक्छिन् भन्ने देखिने गरी मैले भूमिका निर्वाह गरे । एक्काइसौं शताब्दी, संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि महिलालाई समान अवसर दिइएन भने न सुशासन कायम हुन्छ, न हामीले खोजेजस्तो इन्द्रेणी समाज र समृद्धि सम्भव हुन्छ । मेरो जितका केही कारण छन् । पहिलो मेरो पार्टीले लिएको एजेन्डा हो । एमालेको स्वाभिमानको एजेन्डा, हाम्रो सरकार हुँदा भएका विकास, निर्माणका कामले पनि जनताले हामीलाई मत दिनुहुन्छ ।

 

म रत्ति घमण्ड गर्दिनँ, घमन्डले मान्छेलाई खुम्च्याउँछ । मैले प्रदेशसभा सदस्य हुँदा पाएका सेवा, सुविधा समाजकै लागि खर्च गरेँ । अझ त्यसमा थप व्यक्तिगत तर्फबाट पनि योगदान गरेकी छु । भलै मैले मेरा अहिलेका प्रतिश्पर्धी माननीयको जस्तो यसको विज्ञापन र प्रचार गरिनँ । समाजमा गरिएको सहयोग मानिसको कल्याण, विकासका लाग हो, त्यसको जस लिएर मेरो व्यक्तित्व निर्माणका लागि होइन । प्रदेशसभा सदस्य बन्नुअघि पनि मैले समाजिक क्षेत्रका काम गरेको थिएँ । मजदूर क्षेत्रमा काम गरेँ । श्रमजीवीको उत्थानका क्षेत्रमा सक्रिय बने । मानिसलाई सीप सिकाएर आत्मनिर्भर बनाउन भूमिका खेलेँ ।

 

अहिले दलहरुले देशैभर करिब ९ प्रतिशतमात्र महिलालाई प्रत्यक्षमा टिकट दिएका छन् । म घरपरिवार चलाएर, व्यवसाय सञ्चालन गरेर, सामाजिक काम गर्दै यहाँसम्म आएकी एउटी क्रियाशील महिलालाई मेरो क्षेत्रका समझदार, विवेकशील मतदाताले पक्कै न्याय गर्नुहुनेछ । ९ प्रतिशतलाई उम्मेदवारलाई घटाएर ८, ७ मा झार्नुहुने छैन भन्ने अपेक्षा छ ।

 

कास्कीका मतदाता विशिष्ट प्रकारका हुनुहुन्छ । गएको चुनावमा जिल्लामा एमालेको वर्चश्व थियो । पहिलो संविधानसभामा ३ क्षेत्र माओवादी केन्द्रले जितेको थियो । कुनै बेला सबै क्षेत्र कांग्रेसले पनि जितेको थियो । कास्की सधै कसैको पकड एरिया बनेको छैन । एजेन्डा, उम्मेदवार, पार्टी र भविष्यको कार्यभार हेरेर जनतालाई उचित निर्णय हुनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु । हाम्रो विचारकै कारण यत्रो गठबन्धन बन्दा पनि देशैभर हाम्रो माहोल छ । चाहे हामी सरकारमा हौ, चाहे प्रतिपक्षमा, हामीले उठाएको एजेन्डा नै देशको एजेन्डा बनेको छ । एमालेमा प्रवेश गर्नेहरुको भीड छ । नेपाल हाम्रो एजेन्डामा अघि बढ्ने अनि एमालेले हार्ने त्यस्तो होला र ? पक्कै हुने छैन । बेला बेलामा बरु हामी नेताहरु बहकिएको देखिन्छ तर जनताले उचित निर्णय गरेको देखिन्छ ।

 

एमाले देशकै ठूलो पार्टीमध्येमा पर्छ, तपाई निवर्तमान सांसद पनि हो । दोहोरिनुको साटो नयाँलाई मौका दिएको भए अझ उचित हुन्थ्यो कि ?

हेर्नुस्, मैले गएको कार्यकालमा सत्ता पक्ष र प्रतिपक्ष दुवैको अनुभव गरेँ । प्रदेशका लागि आवश्यक कानुन बनाउन, संरचना, संयन्त्र बनाउन भूमिका खेलेँ । प्रदेशको जग बनाउने कुरा, त्यही जगमा समृद्धिको खाका कोर्ने कुरा प्रयोग गर्ने कुरामात्र होइन । यसमा नयाँ र समावेशी नेतृत्व पनि आवश्य चाहिन्छ तर अनुभवी, प्रौढ, धैर्यवान् नेता पनि जरुरी हुन्छ । मैले गएको कार्यकालमा लिएको अनुभव, ममा रहेको ऊर्जा, ज्ञान देशका लागि खर्चिन चाहेकी हुँ । म सधै आफैं हुनुपर्छ भन्ने पक्षमा छैन ।

 

नयाँले पनि मौका पाउनुपर्छ । अर्काे कार्यकालमा म फेरि उम्मेदवार बन्दिनँ । पार्टीले बनाएका उम्मेदवारलाई जिताउन, पार्टीलाई जिताउन अग्रमोर्चामा परिचालित हुन्छु । मेरा नेता, कार्यकर्ता, शुभेच्छुकलाई थाहा छ, मिना गुरुङले कहिल्यै पनि मलाई यो पद नभई हुँदैन भनेर दाबी गरेकी छैन । म त भन्छु, देशका सबैभन्दा दिग्गज मानिसहरु राजनीतिमा आउनुपर्छ । राज्य, राज्यकै नीति बनाउने ठाउँ नसुध्रिई, व्यवस्था बलियो हुँदैन, हाम्रा सपना सार्थक हुँदैनन् ।

 

तपाई निवर्तमान सांसद हो । सांसदको भूमिकामा गर्न बाँकी कुनै काम केही छन् र, तपाईलाई दोहोरिनुपर्ने आवश्यकता आइपुप¥यो ?

पाँच वर्षमा हामीले प्रदेशको राजधानी तोक्यौं, ऐनहरु बनायौं । प्रदेशका संरचना, कार्यालयहरु खोल्न भूमिका निर्वाह ग¥यौं । अप्रत्यासित रुपमा कोभिड महामारी आयो । महामारीको सामनाका लागि हामीले प्रदेशले ल्याब खोल्यौं, कोभिड अस्पताल बनायौं । गण्डकी विश्वविद्यालय स्थापना भयो । गएको कार्यकालमा हामीले ऐन बनायौं, पूर्वाधारहरु बनायौं, अब कार्यान्वयन गर्ने, प्रदेशको समृद्धि गर्ने, परिणाम देखिने बेला हो । जसले पूर्वाधार बनाएको हो, उसैलाई थप काम गर्न सजिलो होला ।

 

हामीले योगदान गरेर बनाएको नयाँ सरकार प्रदेश सरकारलाई दरिलो, नमुना र प्रभावकारी बनाउन जरुरी छ । अब प्रहरी ऐन बनाउनु छ, कर्मचारी ऐन बनाउनु छ । आम्दानीका नयाँ स्रोत खोज्नु छ । स्थानीय सरकार र संघ सरकारबीच समन्वय गर्न पनि हामीले भूमिका निर्वाह गर्नैपर्छ । प्रदेश सरकार रहेको र त्यो सरकार प्रदेशबासीको हित, उत्थान, विकास र समृद्धिका लागि क्रियाशील रहेको आभास दिलाउन म मेरो अनुभव, ऊर्जा, सीप, भूमिका, समय लगाउनु भन्ने अठोट गरी म जनतामाझ आएकी हुँ ।

 

तपाईको निर्वाचन क्षेत्र कास्की २ (२)मा कस्ता समस्या छन्, यहाँका सम्भावनाका चाहिँ के के हुन् भनी पर्गेल्नुभएको छ ?

मेरो निर्वाचन क्षेत्रमा पोखरा महानगरका ६ वटा वडा पर्छन् । ३ वटा वडा महानगरका पुराना क्षेत्र हुन् भने बाँकी ३ वडा महानगरमा पछि थपिएका हुन् । यहाँ केही साझा समस्या छन् भने केही ठाउँपिच्छे फरक फरक समस्या छन् । महानगरका पुराना वडा ४, ८, ९ मा पूर्वाधार धेरै काम भएका छन् । आधुनिक महानगरका लागि आवश्यक संरचना बनाउनु जरुरी छ । बिजुलीका तार अन्डरग्राउन्ड गर्ने, ढलको राम्रो व्यवस्थापन गर्ने, पार्किङको उचित प्रबन्ध मिलाउन जरुरी छ । सेती नदीलाई संरक्षण र सौन्दर्यकरण गर्दै यसलाई पर्यटनकीय आकर्षणको रुपमा विकास गर्न जरुरी छ ।

 

ग्रामीण खालका ३ वडाका बासिन्दालाई साच्चिकै महानगरबासी भएको आभास दिलाउनुपर्ने चुनौती छ । ती क्षेत्रमा राम्रो सडक निर्माण गर्न, चक्ल्याउन जरुरी छ । काहुँ लगायतका क्षेत्रमा खानेपानीकै समस्या छ । उपत्यकाबाट नजिकै रहेर पनि छायाँमा परेका काहूँ, भलाम, लामाचौर, बाटुलेचौरलाई प्रवद्र्धन गर्न जरुरी छ । पोखराका ग्रामीण क्षेत्रमा पनि पर्यटकीय सम्भावनाको खोजी, पूर्वाधार निर्माण र प्रवद्र्धन नगरी यो क्षेत्रको समृद्धि सम्भव छैन ।

 

कतिपय समस्या हेर्दा सानातिना लाग्छन् तर ती समस्या नसुल्झाई जनजीविका सहज बन्दैन । साँझ पर्न लागेपछि ग्रामीण क्षेत्रतिर जाने सार्वजनिक सवारी पाइँदैन । सडकमा बत्तिको व्यवस्था छैन । पुरानो पोखरा उपत्यकाभित्र चल्ने गाडीले मात्र विद्यार्थीलाई सहुलियत दिएका छन् । पोखराकै ग्रामीण क्षेत्रमा चल्ने सवारीमा विद्यार्थी सहुलियत दिइदैन । त्यसका लागि प्रभावकारी कदम चाल्नुछ । कास्कीका उज्ज्वल नक्षत्र रवीन्द्र अधिकारीको सार्वजनिक यातायातमा सहुलियतका लागि ठूलो योगदान थियो । अहिले विद्या भट्टराई, उहाँकी जीवनसाथी कास्की २ मा हाम्रै पार्टीबाट उम्मेदवार हुनुहुन्छ ।

 

मानवीय विकासका लागि गर्नुपर्ने काम पनि छन् । दिनहुँ विदेश हिड्ने युवाको लस्करलाई कम गर्दै जानु हाम्रो चुनौती हो। सीप सिकाएर स्वरोजगार बनाउन हामी भूमिका निर्वाह गर्छाैं । बाध्यताबस विदेशै जानुपरे पनि सीप सिकेर गए सहज काम पाउने अवस्था बन्छ । अदक्ष कामदारको रुपमा विदेश गएर कष्टकर काम गर्नुपरेको देखिन्छ । हाम्रा गाउँघर रित्तै हुने, बारी बाँझै हुने, हाम्रा युवा मरुभूमिका बगैचा बनाउने, सिसामहल बनाउने यो बिडम्बना अन्त्य नगरी देशको कायाकल्प हुँदैन, समृद्धि सम्भव छैन ।

सांसदको मुख्य काम कानुन निर्माण हो ।