२०८१ बैशाख ११ , मंगलबार

‘महापुरुष’ को बिहानी शो पनि हाउसफुल, तीन दिनमा ३ करोड कलेक्सन

सुनाखरी न्युज / काठमाडौं – नेपाली कथानक चलचित्र ‘महापुरुष’ले तीन दिनमा ३ करोड २७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपूर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ । देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो ।

 

आइतबार पनि सार्वजनिक बिदा परेको छ । छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । आइतबारको बिहानी शो उच्च अकुपेन्सी रहेको र दिउँसोको शो हाउसफुल रहेको निर्देशक भट्टराईले जानकारी दिए । टिकट बिक्रीका आधारमा आइतबार ‘महापुरुष’ ले एक करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने देखिएको छ । यदि त्यति व्यापार गरेमा फिल्मले तीन दिनमा साढे तीन करोड ग्रस कलेक्सन गर्ने देखिन्छ । यो नेपालमा भएको फिल्मको व्यापार मात्र हो । निर्माण पक्षले विदेशमा फिल्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छैन ।

 

एकल बाबुको कथा, बुढ्यौली प्रेम तथा पारिवारिक घटनालाई फिल्ममा राम्रोसँग प्रस्तुत गरिएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतको मुख्य भूमिका रहेको छ । फिल्म हेर्न सम्पूर्ण परिवार नै आउने गरेको देखिएको छ । शनिबार भक्तपुरमा एउटै परिवारका २८ जना फिल्म हेर्न हल पुगेका थिए । जतिले फिल्म हेरे सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।