२०८० चैत्र १५ , बिहिवार

सामाजिक सञ्जालमा उम्मेदवारको चरित्र हत्या नर्गन आयोगको आग्रह

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुको चुनिन पाउने अधिकार नै हनन् हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ ।

 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले समूह नै बनाएर प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको निर्वाचित हुन पाउने अधिकारमाथि नै हनन् हुने खालका सामग्रीहरु पोष्ट गरिरहेका बेला आयोगको यस्तो भनाइ बाहिर आएको हो । कसैप्रति लाञ्छना लगाउने, कसैप्रति दूराग्रहपूर्ण अभिव्यक्ति दिने अथवा निर्वाचनमा उठेका उम्मेदवारको चुनिने अधिकारमाथि नै हनन् हुनेगरी सामाजिक सञ्जालको प्रयोग नगर्न आयोगले आग्रह गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले आम मतदातालाई चुन्ने अधिकार भएजस्तै उम्मेदवारलाई चुनिन पाउने अधिकार हुने भएकाले त्यसलाई हनन् गर्न नमिल्ने बताउनुभयो । आयोगले उम्मेदवारविरुद्ध गालीगलौज नगर्न, चरित्र हत्या गर्ने, अवहेलना गर्ने लगायतका अभिव्यक्ति नदिन पनि सबै पक्षलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता पौडेलले सीमा भित्र बसेर मात्रै निर्वाचनमा खर्च गर्न पनि उम्मेदवारलाई भनिएको बताउनुभयो । सम्बन्धित टेक कम्पनीहरुसँग सम्पर्कमै रहेकाले उनीहरुले सामाजिक सञ्जालमा गरेको खर्चको विवरण समेत लिईरहेको आयोगले जनाएको छ ।

 

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहिता वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहिता जारी गरेको उल्लेख गर्दै त्यसका कडाईका साथ पालना राजनीतिक दल र त्यसका उम्मेदवारहरुको ध्यानाकर्षण गराउँदै आएको छ ।