२०८० चैत्र १६ , शुक्रवार

उपत्यकामा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

सुनाखरी न्युज/ काठमाडौं । प्रशासनले उपत्यकामा राति ९ बजेपछि देउसी/भैलो खेल्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले देउसी/भैलो खेल्न राति ९ को समयसीमा तोकेका हुन् ।

 

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आ–आफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसी/भैलो कार्यक्रम गर्न समयसीमा राख्ने/नराख्नेबारे निर्णय गर्ने जिम्मा सम्वन्धित जिल्ला प्रशासनलाई नै दिएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले तोकिएको समयसीमा भित्र मात्रै देउसी/भैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न दिने निर्णय भएको बताए । प्रशासनको आदेश उल्लंघन गरेमा कानुनअनुसार कारबाही गरिने उनले बताए ।

 

यस्तै सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हिँड्न पनि निषेध गरेको छ । प्रशासनले पटका, आतसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री तथा प्रयोग नगर्न पनि अपिल गरेको छ ।