२०८१ बैशाख ४ , मंगलबार

रेमिट्यान्स आयमा वृद्धि, भदौमा २० प्रतिशतले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं ।

रेमिट्यान्स आप्रवाह भदौ महिनामा  करिब २० प्रतिशतले बढेको छ । साउन र भदौमा १८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । जुन अघिल्लो वर्षको यस्तै अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो ।

 

अघिल्लो वर्षको यस्तै अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । यो वर्ष अमेरिकी डलरमा नै विप्रेषण आप्रवाह बढेको छ ।

अमेरिकी डलरमा रेमिट्यान्स ११.३ प्रतिशतले बढेर १ अर्ब ४७ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

अमेरिकी डलरको मूल्य बढ्दै गएपछि बढी मूल्य पाइने अवस्थाले नेपालमा रेमिट्यान्स बढ्न पुगेको देखिन्छ । चाडबाडअघिको समय भएकाले पनि यो अवधिमा रेहिट्यान्सको आप्रवाह अन्य अवधिको तुलनामा धेरै हुन्छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत ९नयाँ० लिने नेपालीको संख्या १६९.९ प्रतिशतले बढेर १ लाख ३ हजार ८९८ पुगेको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०।६ प्रतिशतले बढेर ३९ हजार १८९ पुगेको छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले बढेर २०६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६ प्रतिशतले घटेको थियो ।