२०८१ बैशाख ७ , शुक्रवार

गोली प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जना पक्राउ

सुनाखरी न्युज/ सर्लाही। लालबन्दी नगरपालिका-२ जुटपानी घर भई सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत ३० वर्षीय साजन कार्कीलाई गोली प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा धनकौला गाउँपालिका-१ बस्ने ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र शहनी, भारत बिहार तरयानी छप्रा-८ बस्ने १९ वर्षीय रेहान भन्ने आलोक सिंह, भारत बिहार सुलतानपुर-१० बस्ने १९ वर्षीय सौरभ कुमार यादव र भारत बिहार हराज-१२ बस्ने १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् ।

 

बागमती नगरपालिका-१ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत उनलाई बुधबार दिउँसो गोली प्रहार गरी घाइते बनाएको घटनाको थप अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न आलोक, सौरभकुमार, गुलसनलाई बलरा नगरपालिका-३ लक्ष्मीपुरबाट र धिरेन्द्रलाई धनकौल गाउँपालिका-१ बाट पक्राउ गरेको हो । साथै घटनास्थलबाट प्रहरीले गोलीको खोका ४ थान र फायर भएको बुलेट ४ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।