२०८१ बैशाख १४ , शुक्रवार

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । बुधबार प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेश सभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएसँगै पहिलो हुने निर्वाचित हुने प्राणालीतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ ।

 

हालसम्म १ करोड २८ लाख ४९ हजार ५०० मतपत्र छपाइ भइसकेको छ । जसमा प्रदेश सभातर्फको ६४ लाख ३२ हजार ५०० र प्रतिनिधि सभातर्फ ६४ लाख १७ हजार रहेको छ । हाल कायम रहेको १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि करिब ४ करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि करिब ४ करोड मतपत्र आवश्यक पर्ने छ ।

 

यसअघि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ । भने प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

 

सुदुरपश्चिम प्रदेशमा ढुवानी शुरु
विहिबारदेखि सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी शुरु भएको छ । कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्जुलालगायतका जिल्लाहरुमा मतपत्र ढुवानी भएको छ । बागमती, मधेश र प्रदेश नं. १ का जिल्लाहरूमा भने यसअघि नै मतपत्र ढुवानी भइसकेको छ ।