२०७९ मंसिर १४ , बुधवार

चालक अनुमति पत्रको चेकजाँच अब स्मार्ट कार्ड रिडरबाट हुने

सुनाखरी न्युज/ काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली वा नक्कली परीक्षण गर्ने उपकरण यातायात व्यवस्था विभागको कार्यालयले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

 

नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका दुर्घटनाको न्यूनीकरणका लागि विभागले एक कार्यक्रमका बीच स्मार्ट लाइसेन्सको परीक्षण उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । विभागका तर्फबाट महानिर्देशक टोकराज पाण्डेयले नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई एक सय ९८ थान स्मार्ट कार्ड रिडर उपकरण हस्तान्तरण गरेको हो ।

 

यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयका अनुसार ‘स्मार्ट लाइसेन्स’ परीक्षण गर्ने उपकरणले सवारी चलाउने चालकले बोकेको अनुमतिपत्र चालक स्वयंकै हो वा होइन भन्ने तत्कालै परीक्षण गर्न सकिन्छ । साथै, उक्त उपकरणमा औँठा छापको परीक्षणसमेतको व्यवस्था रहेको छ । हालसम्म विभागले २९ लाख ५० हजार स्मार्टकार्ड (लाइसेन्स) वितरण गरिसकेको छ । यी सबै लाइसेन्स परीक्षण गर्न मिल्ने उक्त उपकरण सातै प्रदेशमा उपलब्ध गराउने गरी नेपाल प्रहरीलाई वितरण गरिएको पाण्डेले बताउनुभयो । ट्राफिक प्रहरीको नियमित जाँचका क्रममा नक्कली लाइसेन्स बोक्ने तथा साथीभाइको लाइसेन्सलाई देखाएर हिँड्ने गरेको तथ्याङ्क बढेको छ । यस उपकरणले तत्कालै सो लाइसेन्स कसको हो भन्ने सहजै थाहा पाउन सकिन्छ ।

 

यसले दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्नेछ । यसअघि पनि यातायात व्यवस्था कार्यालयले ४० वटा स्मार्ट कार्ड रिडर उपकरण ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको थियो । यसपटक हस्तान्तरण गरेको उपकरणमा औँठाछापको परीक्षणसमेत गर्न सकिने व्यवस्था रहेको छ । यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको निर्देशक श्रीचन्द्र साहले बताउनुभयो ।