२०८१ बैशाख ७ , शुक्रवार

माध्यमिक तहमा रजिष्ट्रेसन फारम एक पटक मात्रै भरे हुने

सुनाखरी न्युज/ काठमाडौं ।

माध्यमिक तहको रजिष्ट्रेसन फारम एक पटक भरेपछि हुने भएको छ । माध्यमिक तहको लागि फाराम ९ कक्षामा भरेपछि हुनेगरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसभन्दा अघि कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिष्ट्रेसन फारम भर्नुपर्ने भएकाले बोर्डले गत साता कार्यतालिका सार्वजनिक गर्दै कक्षा ११ का विद्यार्थीले कात्तिक मसान्तसम्म रजिष्ट्रेसन फारम भर्ने समयावधि तोकेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक तहमा छुट्टाछुट्टै भर्न नपर्ने कक्षा ९ मा भरेको रजिष्ट्रेसन नम्बरले कक्षा १२ सम्म लागू हुनेगरी प्राविधिक अध्ययन भइरहेको बताए । उनले भने, ‘कक्षा ९–१२ लाई माध्यामिक तह मानिए पनि फारम भने पटक–पटक भर्नुपर्ने छ । अब यो वर्ष कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुदेखि लागू हुनेगरी कक्षा ९ मा फारम भरे त्यही रजिष्ट्रेसन नम्बर हुने गरी होमवर्क गरिरहेका छौं ।’

सामान्यतया असोज–कात्तिक महिनामा कक्षा ९ को रजिष्ट्रेसन फारम भराउने गरिए पनि यो वर्ष माध्यामिक तहलाई एक पटक मात्रै रजिष्ट्रेसन भराउने गरी कार्य उक्त कार्य सकिएपछि निर्णय सहित रजिष्ट्रेसन समयावधि तोकिने अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

बोर्डले विद्यालयको कोड नम्बर एउटै कायम गर्ने गरी काम भइरहेको जनाएको छ । हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एउटा कोड तथा कक्षा १० र १२ का परीक्षा नियन्त्रण कार्यालयले फरक कोड निर्धारण गर्दै आएका छन् ।

विद्यालय कोडमा एकरुपता कायम हुँदा काम गर्न सबैलाई सहज हुने अध्यक्ष शर्माको भनाइ छ ।