२०८१ बैशाख ८ , शनिवार

कात्तिक १८ गतेदेखि मात्रै निर्वाचन लक्षित सभा सम्मेलन गर्न पाइने

सुनाखरी न्युज/ काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कात्तिक १८ देखि मात्रै राजनीतिक दल र उम्मेदवारहरुले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् ।

 

सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउने छन् । निर्वाचनलाई भड्किलो नबनाउन र मर्यादित रुपमा प्रचारप्रसार गराउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ मा यस्तो व्यवस्था गरेको हो । आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिहरुलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिइसकेको छ ।

 

उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाटै निगरानी गर्नुपर्ने भएकोले उम्मेदवार तथा राजनीतिक दलले गरेको खर्च तथा आचारसंहिता पालनाको सम्बन्धमा गहन तथा सुक्ष्म रुपमा अध्ययन गर्ने जनाएको छ । आयोगले आचारसंहिताको उल्लंघनलाई स्थलमै कारबाही गर्न केन्द्रीय र जिल्लास्थित आचारसंहिता अनुगमन समिति र अनुगन अधिकृतलाई निर्देशन दिइसकेको छ ।