२०८१ बैशाख ८ , शनिवार

भारत निकासी हुन थाल्यो अर्घाखाँची सिमेन्ट

सुनाखरी न्युज/ काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सोमबारदेखि आफ्नो उत्पादन भारत निकासी सुरु गरेको छ । रुपन्देहीको सियारी गाउँपालिकास्थित मैनियामा रहेको सिमेन्ट उद्योग परिसरबाट सोमबार भारतको सिमावर्ती महाराजगंज जिल्लाको नौतनवास्थित सुभांसु एशोसिएट डिलर मार्फत् ७० टन (१ हजार ४ सय बोरा) पीपीसी सिमेन्ट निकासी सुरु भएको हो ।

 

नेपालबाट सिमेन्ट भारत निकासी गर्ने यो उद्योग पाल्पाको तानसेन सिमेन्ट पछिको दोस्रो हो । अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश अग्रवालले भारतको ब्यूरो अफ इन्डियन स्टान्डर्डस्‌ले अर्घाखाँची सिमेन्ट इण्डष्ट्रिजको उत्पादनलाई भारतीय गुणस्तर मापदण्ड चिन्ह दिएपछि नेपालबाट सिमेन्ट निर्यात गर्न सुरु भएको बताए । ‘नेपाली सिमेन्ट भारत निकासी गर्न पाउनु हाम्रो लागि गर्व र खुसीको कुरा हो’ अग्रवालले भने, ‘हामी विगत छ महिनादेखि सिमेन्ट भारत निकासीको पर्खाइमा थियौं ।’

 

नेपाली सिमेन्टको उत्पादन लागत भारतको भन्दा महँगो भएपनि नेपाल सरकारले चालु बजेटमा वार्षिक ५० करोड रुपैयाँ मूल्य बराबरको उत्पादन विदेश निर्यात गर्दा आठ प्रतिशत अनुदान दिने घोषणा गरेकाले उत्पादन लागत केही सस्तो पर्न गएकाले निकासी सम्भव भएको उनले बताए । अर्घाखाँची सिमेन्टका अर्का निर्देशक पशुपति मुरारकाले सिमेन्टको गुणस्तर भारतीय सिमेन्टको भन्दा राम्रो भएको दावी गर्दै नेपाली सिमेन्ट भारत निकासी हुन थालेपछि केही हदसम्म भएपनि भारतसँगको व्यापार घाटा कम हुने बताए ।