२०८० चैत्र १६ , शुक्रवार

पुरुष भलिबलमा गण्डकी समूह विजेता

सुनाखरी न्युज/ पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेशले बिजयी शुरुआत गरेको छ । पोखरामा शुक्रबारदेखि शुरु भएको खेलमा गण्डकीले वागमती प्रदेशलाई पराजित गर्दै बिजयी शुरुआत गरेको हो । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा भएको खेलमा गण्डकीले वागमतीलाई ३–१ सेटमा हरायो ।

 

यद्यपि, समूह ‘डी’ मा गण्डकी र वाग्मती मात्रै रहेकोले दुवै टिमले क्वाटरफाइनल चरण प्रवेशलाई सुनिश्चित गरिसकेका छन् । दुई टिमले समूह बिजेता बन्न प्रतिस्पर्धा गरेका हुन् । पहिलो सेट २५–२० ले परिणाम हात पारेको गण्डकीले दोस्रो सेट भने १५–२५ ले वाग्मतीलाई सुम्पियो । तेस्रो र चौंथो सेटमा गण्डकीले मौका दिएन । तेस्रो सेट २५–१८ ले जित हात पार्दा चौंथो सेट सहज प्रतिस्पर्धामा २५–१४ ले गण्डकी विजयी भयो । शुक्रबार भएको भलिबल खेलको उद्घाटन खेलमा विभागीय टिम पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । साविक बिजेता पुलिसले २५–१६, २५–१२ र २५–११ को सहज जित निकालेको हो । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ ।

 

पुरुष भलिबलको समूह ‘ए’ मा पुलिस र कर्णालीसहित लुम्बिनी प्रदेश रहेको छ । सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वागमती प्रदेश छन् । प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । शनिबारको पहिलो खेल एपीएफ र गैरआवासीय नेपाली संघ (एनआरएनए), दोस्रो खेल त्रिभुवन आर्मी र प्रदेश १ र तेस्रो खेल पुलिस र लुम्बिनी प्रदेशबीच हुनेछ । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।