२०८१ बैशाख २६ , बुधवार

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट

सुनाखरी न्युज/ काठमाडौं । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ ।

 

युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पु¥याएको सहयोगबारे प्रशंसा गर्नुभएको थियो । साथै अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न अनुरोध गर्नुभयो । अर्थमन्त्री शर्माले सूचना प्रविधि, जलावयु परिवर्तनको चुनौती सामना गर्न र नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

 

अर्थमन्त्री शर्माले प्रमुख प्रशासक समान्ता पावरलाई उपयुक्त समयमा नेपाल भ्रमणको हार्दिक निमन्त्रणासमेत गर्नुभयो । यसैगरी पावरले नेपालका अर्थमन्त्रीसँगको भेटघाट फलदायी रहेको, नेपाल अमेरिका साझेदारी र नेपालको प्रजातान्त्रिक अभ्यासको प्रगतिका लागि सहयोग रहने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत पावरले लेख्नुभएको छ, “तत्कालका चुनौतीको सामना गर्न दुवै देश मिलेर काम गर्न तयार भएका छौँ ।” यस्ता चुनौती जलवायु परिवर्तन र खाद्य सुरक्षा गरेको युएसएआइडीका प्रमुख प्रशासक समान्ता पावरले उल्लेख गर्नुभएको छ । उक्त भेटघाट कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा भ्रमणदलमा सहभागी अन्यको समेत उपस्थिति थियो ।

 

नेपालको आर्थिक सामाजिक विकासमा युएसएआइडीको महत्वपूर्ण सहयोग रहेको छ । गत मे महिनामा मात्र उक्त नियोगले आगामी पाँच वर्षका लागि नेपाललाई ६५ करोड ९० लाख डलरको सहयोगको घोषणा गरेको थियो । उक्त सहयोग नेपालले आफूलाई अल्पविकसित देशवाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्न उपयोग गर्नेछ ।

 

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी
अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गर्नुभएको छ ।

 

अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा सहभागीले विश्वव्यापीरुपमा सिर्जना भएको समस्याको समाधान गर्न वित्तीय सहायता प्रदान गरेर नेपालजस्ता देशका समस्या सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

 

यसैगरी अर्थमन्त्री शर्माले साइडलाइन कार्यकारी संवाद सत्रमा सहभागी भएर जलवायु उत्सर्जनको समस्यासँग जुध्न र सदस्य राष्ट्रहरुले चालेका कदमका बारेमा छलफल गर्नुभएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीलगायत उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो । विश्व बैंकको प्रक्षेपणअनुसार चालु वर्षमा नेपालको वृद्धि पाँच दशमलव एक प्रतिशतले हुने उल्लेख गरिएको छ । नेपालको पर्यटन र सेवा क्षेत्रको वृद्धि तथा जलविद्युत् क्षेत्रको उत्पादन वृद्धिले कोरोनापश्चात्को आर्थिक वृद्धिदर सकारात्मक रहने उस्को प्रक्षेपण छ ।

 

नेपालको आर्थिक विकासका लागि संरचनागत चुनौती रहेको उल्लेख गर्दै विश्व बैंकले कर प्रणालीको आधुनिकीकरण, वैदेशिक प्रत्यक्ष लगानी र सङ्घीय बजेटको पूर्ण कार्यान्वयनले मात्र दिगो र समावेशी वृद्धिको मार्ग रहेको उसको ठम्याइ रहेको छ । रासस