२०८० चैत्र १६ , शुक्रवार

काठमाडौं ५ का मतदाताले देश बनाउने नेतालाई विश्वास गर्छन : कांग्रेस नेता प्रदीप पौडेल

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेस काठमाडौं– ५ ले आज आयोजना गरेको क्षेत्रीय प्रतिनिधि भेलामा कांग्रेस नेता प्रदीप पौडेलले सम्बोधन गर्दै भने काठमाडौंले देश बनाउने नेतालाई विशवास गर्छ। विकृतिहरुलाई अन्त्य गर्ने गरि अगाडि बढेको नेतृत्वलाई विश्वास गर्छ। आज देशमा धेरै विकृतिहरु छन्। राजनीतिभित्रै धेरै विकृतिहरु छ। राजनीतिमा विकृति ल्याउने नेतृत्व पनि दलहरुभित्र छ। त्यसैले राजनीति सफा गर्न आवश्यक छ। मेरो पहिलो उदेश्य राजनीतिलाई सफा गर्ने हो। दोस्रो कुरो राजधानीलाई पनि सफा गर्ने उदेश्य हो।

 

काठमाडौंको क्षेत्र नम्बर ५ राजधानीको पनि राजधानी हो। यसले नेपालको नीति निर्माणमा ठूलो योगदान गर्न सक्छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, राष्ट्र बैंकलगायतका धेरै महत्वपूर्ण केन्द्रहरु छन् क्षेत्र नम्बर ५ मा। त्यसैले ५ बाटै देश बन्ने नीति बन्नुपर्छ। देश बनाउने नीतिको नेतृत्व गर्ने नेता ५ बाटै आउनु पर्छ। मलाई विशवास गर्नुस्, तपाईंको विश्वासलाई, भरोसालाई मैले कुठाराघात गर्ने छैन। तपाईंको सांसदको रुपमा मैले देशमा प्रभावकारी भूमिका निर्वाह गर्ने छु। तपाईंको शिर निहुरिने, तपाईंलाई लाज हुने स्थिति मैले निर्माण गर्ने छैन। गर्व हुने स्थिति निर्माण गर्ने छु। डाँडागाउँदेखि हाँडीगाउँसम्मको क्षेत्रलाई धार्मिक केन्द्रको रुपमा।सूचना प्रविधि केन्द्रका रुपमा, प्रशासनिक केन्द्रका रुपमा र स्वास्थ्य उपचारको केन्द्रका रुपमा विकसित गर्नेछु।

 

संसारको प्रदुषित सहरका रुपमा परिचित काठमाडौंलाई सफा गरेर स्वच्छ, सफा, हराभरा र सुन्दर सहरका रुपमा परिणत गर्नका निम्ति हामी विशेष योजनाहरु ल्याउने छौं। यहाँका खोलाका दुवै किनारमा करिडोर निर्माण गरेर काठमाडौंको ट्राफिक जामलाई अन्त्य गर्नका निम्ति हामी विशेष योजना ल्याउने छौं। यहाँको नेवार समुदाय सभ्यताको प्रतीक हो। हिन्दु सभ्यता, नेवार संस्कृतिको सभ्यतालाई हामीले संरक्षण गर्ने,सम्वृद्ध बनाउने गरि अगाडि बढ्ने छौ । कार्यक्रम मा प्रमुख अतिथि काग्रेस केन्द्रीय प्रबक्ता डाक्टर प्रकाश सरन महत , प्रदेश उमेद्दबारहरु भैरब सापकोटा, स्याम बहादुर खडका लगायतका नेताहरुले सम्बोधन गर्नुभयको थियो ।