२०८२ चैत्र ४ , बुधवार

सन्दीप लामिछाने आज बिहान १० बजे फर्किने, एयरपोर्टबाटै प्रहरी जिम्मामा

सुनाखरी न्युज/ काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे स्वदेश फर्किने भएका छन् । कतार एयरवेजको फ्लाइटबाट फर्कन लागेको उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

 

नेपाल झर्ने बित्तिकै उनले एयरपोर्टमा प्रहरीसमक्ष आफूलाई बुझाउने छन् । उनले आफूमाथि गलत आरोप लागेको उल्लेख गर्दै छानबिनमा सहयोग गर्ने उल्लेख गरेका छन् । उनले आफू एयरपोर्टमाा उत्रिदाँ आफ्ना वकिल सरोजकृष्ण घिमिरेलाई पनि उपस्थित गराईदिन प्रहरीलाई यसअघि नै अनुरोध गरेका थिए । उनले आफ्नो सुरक्षाका लागि घिमिरेलाई उपस्थित गराईदिन फेसबुक स्टाटसमा पनि अनुरोध गरेका छन् । एक १७ वर्षिया नाबलिग किशोरीले भदौ २१ गते लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टबाट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । जाहेरीमा गत भदौ ५ गते साँझ लामिछानेले नगरकोट लगेको र त्यही रात फर्किएर गौशालाको एक होटलमा ल्याई जबर्जस्ती करणी गरेको आरोप लगाइएको छ ।

 

स्रोतका अनुसार सुरुमा लामिछानेका साथीसँग किशोरीको चिनजान भएको थियो । उनै साथीमार्फत किशोरी लामिछानेको सम्पर्कमा पुगेकी थिइन् । एक महिनाअघि मात्र दोहोरो चिनजान भएका उनीहरूबीच त्यसपछि सामाजिक सञ्जालमा कुराकानी र फोटो आदानप्रदान हुने गरेको थियो । जाहेरीमा उल्लेख गरेका केही विषय उद्धृत गर्दै प्रहीले जारी गरेको विज्ञप्तिमा लामिछानेले किशोरीलाई भदौ ५ मा काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी पुनः त्यही रात ११:५५ मिनेटमा गौशालाको एक होटलमा ल्याई पटकपटक जबर्जस्ती करणी गरेको उल्लेख छ । दुवै जना भोलिपल्ट बिहान पौने ७ बजेतिर होटलबाट बाहिरिएका थिए । जाहेरीमा किशोरीले आफूले लामिछानेसँग सामाजिक सञ्जाल (स्न्याप च्याटमार्फत) एक प्रशंसकका रूपमा कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर होटलमा लगी बलात्कार गरेको बताएकी छन् ।

 

प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ। संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ उल्लेख छ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।