२०८० चैत्र १६ , शुक्रवार

नाकामा अनुगमन टोलीलाई खसी व्यापारीको जवाफ : हचुवामा ल्यायौँ, हचुवामै बेच्छौँ

सुनाखरी न्युज / काठमाडौं । दशैँका लागि काठमाडौँको बालाजु बाइपासमा खसी बेचिरहेका व्यापारी गणेश पोखरेलले भन्नुभयो, ‘हचुवामा किनेर ल्यायौँ । हचुवामा बेच्छौँ ।’ उहाँले साथीहरुसहित धादिङ्लगायतका ठाउँबाट ५ सय खसीबोका बेच्न ल्याउनुभएको थियो । ती धेरै विक्री भइसकेका छन् । उहाँले २ वटा खसीको घाँटीमा बाँधिएका दाम्लोहरु हातमा समाएर ग्राहकलाई खसीको मूल्य सुनाउँदै हुनुहुन्थ्यो ।

 

 

लैजाने भए यसको दाम ३५ हजार रुपैयाँ । ग्राहकको जवाफ आयो, ३० हजार दिउँला । पोख्रेलले नजिक रोकेर राखेको गाडी देखाउँदै जवाफ फर्काउनुभयो, ३२ हजार दाम त उहाँले दिइसक्नु भएको हो । मैले बेचिन । यसको अन्तिम दाम नै ३५ हजार हो । खसी किन्ने ग्राहक टाढा जानुभन्दा यहीँ दाम मिलाएर किन्ने सुरमा हुनुहुन्थ्यो । यति गफ गर्दागर्दै अर्का एक जना ग्राहक आउनुभयो, उहाँले दाम कति हो खसीको भनेर सोधेको प्रश्नमा पाख्रेलले ३६ हजार रुपैयाँ भन्ने जवाफ फर्काउनुभयो । वरिपरि हेर्ने मानिसहरु मुसुमुसु हाँसिरहेका थिए । पाखरेल भन्दैहुनुहुन्थ्यो, ‘इच्छा भए लाने हो, जवर्जस्ती कसले गर्छ र ?’

 

यी संवाद र बजारको अवस्था आजको हो । महानगरको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो । त्यहाँ आज करिव ३० वटा खसीबोका बेच्नका लागि राखिएका थिए । यो अवस्था देखेपछि अनुगमन टोलीले हचुवामा बेच्दा उपभोक्ता मारमा पर्ने भएकोले यसो गर्न नहुने बताएको थियो । जवाफमा व्यापारीहरुले, एउटा दुईटा खसी बोका बेचेर दशैँ मनाउने किसानसँग तौल लिने व्यवस्था नहुने उत्तर दिए । यो ठाउँमा नुवाकोट, सिन्धुली, गोरखा, बारालगायत ठाउँबाट खसीबोका ल्याउने गरिएको छ । पशु स्वास्थ्य विभागकाअनुसार हिजो यस नाकाबाट २०३ वटा वोका, ४२३ वटा खसी, ५१ वटा राँगा, ५२२ वटा कुखुरा र ४ वटा बाख्री भित्रिएका थिए ।

 

 

महानगरको खाद्य नियमन तथा पशुपंक्षी महाशाखाका पशु विकास अधिकृत डम्बर बमकाअनुसार, बजारमा रोगी खसी बाख्रा भेटिएका छैनन् । निरोगी खसीबोकाका सिंङ्मा हरियो रङ्ग लगाएर खान योग्य भन्ने संकेत गररिएको छ । यिनीहरुको वाह्य अवस्था परीक्षणबाट चिन्ह लगाइएको हो । कलंकी खसी बजार विस्थापनका लागि महानगरले पत्राचार गरेपछि यस बर्ष त्यस क्षेत्रबाट विक्री गरिएका खसीबोकाको महानगरले परीक्षण गरेन ।