२०८१ बैशाख १३ , बिहिवार

दसैं मनाउन १८ लाख बढीले उपत्यका छाडे

सुनाखरी न्युज/ काठमाडौं ।
यस वर्षको दसैं मनाउन करिब १८ लाखले उपत्यका छाडेका छन् । नयाँ बसपार्क, कोटेश्वर, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जनाएका छन् ।

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार असोज १ गतेदेखि आइतबारसम्म करिब १८ लाख बढी यात्रुले उपत्यका छाडेका छन् । यो निजी, भाडाका गाडी र सार्वजनिक सवारीमा बाहिरिने यात्रुको संख्या हो । सोमबार साँझसम्म १९ लाखले उपत्यका छाड्ने अनुमान रहेको उनले बताए ।

 

दसैंका लागि घर जाने यात्रुको भीड कोटेश्वर, नयाँ बसपार्क र कलंकीमा सोमबार बिहानसम्म लागेको छ । कोभिडका कारण दुई वर्षसम्म चाडबाड मनाउन घर जान नपाएकाहरू यो वर्ष घटस्थापनाबाटै उपत्यका छाड्न थालेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरका अनुसार गत वर्ष करिब १६ लाख यात्रुले उपत्यका छाडेका थिए । नयाँ बसपार्क, कलंकी, कोटेश्वरमा दसैंका लागि घर जाने यात्रुहरूको भिडमभीड छ ।