२०८१ बैशाख ८ , शनिवार

डेङ्गी रोकथाम र नियन्त्रणका कार्यक्रमलाई महानगरले दशैँमा विशेष व्यवस्थाबाट चलाउने

सुनाखरी न्युज / काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेङ्गी रोकथाम तथा नियन्त्रणका कामलाई दशैँ पर्व अवधिमा विशेष व्यवस्थाबाट सञ्चालन गर्ने भएको छ । यसअघिका कार्यक्रमलाई निरन्तरता दिँदै पर्वका अवधिमा महिला स्वास्थ्य स्वयमसेविकाबाट सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

 

महानगरमा ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका हुनुहुन्छ । सिटामोल र जीवन जल वितरणका लागि उहाँहरुलाई नै उपलब्ध गराइएको छ । ‘पर्वका समयमा डेङ्गीसँग सम्बन्धित कुनै विषयमा जानकारी लिन परेमा महानगरको हटलाइन ११८० मा सम्पर्क गर्नोस् । डेङ्गीको उपचारका लागि अस्पताल जानु परे १०२ मा फोन गरेर निःशुल्क नेपाल एम्बुलेन्स सेवा प्रयोग गर्नोस् ।’ संक्रमण रोकथान तथा नियन्त्रणका लागि महानगरबासीलाई अपिल गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि सबै नागरिकले ध्यान दिनुहोला । महानगरले संक्रमण रोकथाम र नियन्त्रण तथा परीक्षण र उपचारका लागि निरन्तर काम गरिरहनेछ ।’

 

महानगरले यसअघि सम्पन्न गरेका क्रियाकलाप

महानगरले डेङ्गीको संक्रमण फैलिन नदिने प्रयासको थालनी गर्दा पहिलो चरणमा प्रशिक्षण र सचेतनाका कार्यक्रम गरियो । यसमा सबैभन्दा पहिले जनप्रतिनिधि र विज्ञहरुसँग अन्तक्र्रिया गरियो । त्यसपछि सहरी स्वास्थ्य केन्द्रहरुका प्रमुखहरुलाई प्रशिक्षण दिइयो । प्रशिक्षणकै सिलसिलामा जनप्रतिनिधिहरुको रोहवरमा वडाका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु, नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई डेङ्गी नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरियो ।

 

यस सँगै सचेतनाका कार्यक्रम थालियो । यसमा विद्यालयमा विद्यार्थीहरुका लागि कार्यक्रम सम्पन्न गरियो । प्रशिक्षण र सचेतनासँगै डेङ्गीको लार्भा खोजौं र नष्ट गरौं अभियान, डेङ्गीका लक्षण, प्रारम्भिक उपचार तथा यस सम्बन्धी जानकारी दिन २४ घण्टे हटलाइन सेवा ११८० को थालनी गरियो । डेङ्गी उपचारका लागि अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स सेवा १०२ लाई निरन्तरता दिइयो । संक्रमको वृद्धिदर नरोकिएपछि दोस्रो चरणमा महानगरका प्रमुख शाहको कार्यकक्षमा स्वास्थ्य सेवा विभाग, जिल्ला स्वास्थ्य कार्यालय, विश्व स्वास्थ्य संगठनलगायतका विज्ञहरुसँगको छलफल गरेर संक्रमण रोक्न अबलम्बन गर्नुपर्ने क्रियाकलापका विषयमा छलफल गरियो ।

 

यस चरणका सचेतना कार्यक्रमअन्तर्गत विद्यालयको प्रार्थना सभाहरुमा विद्यार्थीहरुलाई प्रत्येक दिन संक्रमण रोकथामका उपायहरुका बारेमा जानकारी गराइयो । महानगरको स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीकाअनुसार, यस अवधिसम्म विभागबाट चलिरहेका कार्यक्रमको निरन्तरताका लागि जनप्रतिनिधिहरुको नेतृत्वमा वडालाई जिम्मेवारी दिइयो । वडा नं. १२, १५ र ३२ वडाहरुमा डेङ्गीका लामखुट्टेको सर्भेक्षण गरियो । स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा चलाइएको सर्भेक्षणको प्रतिवेदन आउन बाँकी छ । डेङ्गी नियन्त्रणका लागि नेपाल सरकारले प्रत्येक शनिवार विहान १० बजेदेखि १० मिनेटसम्म आफ्नो घर सफा राख्ने अभियान आव्हान गरेको छ । यसमा काठमाडौँ महानगरपालिकाले कार्यक्रम थालेको छ ।