२०८१ बैशाख १४ , शुक्रवार

शुभकामना

उत्तम विचार –
दुर्गे भवानी सुन यो पुकारा
समाजमा होस् अब भाइचारा ।
सम्पन्नता होस् घरमा सबैको
अर्पिन्छु न्यानो शुभकामना यो ।। १ ।

 

बनून् निरोगी दुनियाँ दुरुस्त
होस् ताजगी तनभित्र चुस्त ।
मिलोस् सिटामोल बजारमा जो
डेङ्गु नलागोस् परिवारमा त्यो ।।२।

 

अभाव होला अनिकाल टाढा
सद्भाव होला रङतुल्य गाढा ।
हुन् बाल वृद्धा र युवा रमाऊन्
सबै मिली चाड दसैँ मनाऊन् ।।३।

 

फर्केर आऊन् गुँडमा बचेरा
सम्पूर्ण होऊन् भरिऊन् बसेरा ।
मच्चाउँदै छन् पिङको लठारो
अचम्म लाग्दो सबमा हतारो ।।४।।

 

खाना र नाना हुनुपर्छ नौलो
लिएर आओस् पल होस् सुनौलो ।
भन्छन् स-साना घरका मुनाले
उस्तै अपेक्षागरि पाहुनाले ।।५।

 

देखावटी होस् नगरी भएन
आडम्बरी रोग अझै गएन ।
हेरेर घाँटी तर हाड निल्न
भयो बडो मुस्किल झन् उकेल्न ।।६।

तेरो न मेरो किन होस् कसैको
हाम्रो दसैँ पर्व बनोस् सबैको ।
असत्यमा होस् जित सत्य छानी
हुन् दाहिना मातृ उनै भवानी ।।७।

छन्द : उपजाति ।