२०८१ बैशाख १३ , बिहिवार

गोठाटारमा लाल मोहम्मद हत्या प्रकरण: हतियार ल्याउने र रेकी गर्ने तीन जना पक्राउ

सुनाखरी न्युज / काठमाडौं । लाल मोहम्मद मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। शुक्रबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ बस्ने २१ वर्षीय महोरम मियाँ, वीरगन्ज-१५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका-१ घर भई काठमाडौंको कपन फैकाचोक बस्ने २१ वर्षीया सुमी भन्ने सुस्मिता स्याङताङ छन्।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराका अनुसार दुई जना पुरूषलाई शुक्रबार वीरगन्जबाट पक्राउ गर हो। यस्तै सुमीलाई भने काठमाडौ‌ंबाटै पक्राउ गरिएको उनले बताए। पक्राउ पर्ने महोरम र रेहानले पर्साबाट काठमाडौंसम्म पेस्तोल ल्याएका थिए। घटनामा प्रयोग भएको ‘मेड इन युएसए’ लेखिएको पेस्तोल काठमाडौं ल्याउने काम उनीहरू दुई जनाले गरेका थिए। घटनास्थलबाट उक्त पेस्तोल पनि प्रहरीले बरामद गरेको छ।प्रहरीले घटनास्थलबाट ९ एमएमको चार वटा खोका र चार राउन्ड गोली पनि बरामद गरेको छ। सुमी भने रेकी गर्न खटाइएको खुलेको छ। उनलाई मोहम्मदको गतिविधि रेकी गर्न खटाइएको एसएसपी बोहराले बताए। ‘मोहम्मदको गतिविधि निगरानी गर्न सुमीलाई खटाइएको देखिन्छ। उनी कहाँ जान्छन्। कतिबेला घर पुग्छन् लगायतबारे उनले रेकी गर्थिन्,’ उनले भने।

 

 

उनी पनि आपराधिक पृष्ठभूमिकै व्यक्ति भएको उनले बताए। चोरी मुद्दामा २०७६ असार ११ गते देखि २०७८ फागुन ७ गतेसम्म उनी केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गरेको खुलेको छ। प्रहरीले घटनामा संलग्न तीन जना पक्राउ गरेको बताए पनि उनीहरू नै मुख्य योजनाकार भने होइनन्। यस घटनाका मुख्य योजनाकार, गोली प्रहार गर्ने व्यक्तिहरू अझै फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ। प्रहरीले लाल मोहम्मदको हत्या किन भयो भन्नेबारे पनि खुलिनसकेको जनाएको छ। पक्राउ परेकामाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

 

 

काठमाडौंको गोठाटारमा गत असोज ३ गते साँझ लाल मोहम्मदमाथि गोली प्रहार गरिएको थियो। गोली लागेपछि घाइते भएका मोहम्मदको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार क्रममा मृत्यु भएको थियो। मोहम्मदको टाउको र तिघ्रामा गोली लागेको थियो। सर्लाहीको हरिवन नगरपालिका–२ का ५८ वर्षीय मोहम्मद गार्मेन्ट व्यवसायी थिए। कागेश्वरी मनोहरा नगरपालिका- ८ मा उनलाई गोली हानेर आक्रमणकारीहरू भागेका थिए।