२०८१ बैशाख १२ , बुधवार

नेपाल-भारत बैठकः चासो सीमा सुरक्षाको

सुनाखरी न्युज / काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।

 

सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक काठमाडौँमा भएको दुई दिने छैटौँ समन्वयात्मक बैठकमा सो सहमति भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले बैठकको नेतृत्व गर्नुभएको थियो ।

 

बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउने, दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्नेलगायत सहमति भएको छ । दुई सुरक्षा अधिकारीबीच भएको हस्ताक्षरमा सीमा नाकामा ‘हेल्प डेस्क’ स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति पनि भएको सशस्त्र प्रहरीले हिजो एक सूचना जारी गरी जनाएको छ ।