२०८० चैत्र १६ , शुक्रवार

सप्तकोसी नदीमा जेटबोट सञ्चालनमा

सुनाखरी न्युज / सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ ।

 

सप्तकोसी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिसहित चारवटा कम्पनीले तीनवटा लामो दूरीका र चारवटा छोटो दूरीका जेट बोट सञ्चालनमा ल्याएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक नवीन पौडेलले जानकारी दिनुभयो ।

 

हिउँदको बेला चाडपर्वमा स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । सप्तकोसी किनारस्थित बराहक्षेत्र मन्दिरबाट जेटबोट सञ्चालन भएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक पौडेलले जानकारी दिनुभयो । दसैँ तिहार लक्षित गरी यात्रुलाई सहजताका साथ आफ्नो गन्तव्यस्थल पुग्नका लागि जेटबोट सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

 

बराहक्षेत्रबाट कोप्चेसम्मका जेटबोटको हालको भाडादर जनही रु छ सय कायम गरिएको र जेटबोटले पाँच किलोमिटको दूरी तय गर्ने स्थानीय पत्रकार सङ्गम विष्टले जानकारी दिनुभयो । पानी सतह घटेपछि भाडादरमा समायोजन गरिने पौडेलले जानकारी दिनुभयो । बराहक्षेत्रबाट जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायतका ठाउँमा यात्रा गर्नका लागि सहज हुने उहाँले बताउनुभयो । जेट बोटको क्षमता ४० सिटको रहेको पौडलले बताउनुभयो ।