सुनाखरी न्युज / गोरखा । मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । सोमबारदेखि उनी मनास्लुमा स्की गर्ने क्रममा बेपत्ता भएकी थिइन् ।
नेल्सनको शव भेटिएको र सामागाउँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन् । नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् ।
८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ । अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।