२०८१ बैशाख ६ , बिहिवार

लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा २ जना चालक पक्राउ

सुनाखरी न्युज / काठमाडौं । लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले नागढुङगा क्षेत्रमा चेकजाँच गरेको छ ।

 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटश्वरको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा २ जना चालकलाई साँझ नागढुङगा सडक खण्डमा फेला पारेको हो । बा ३ ख ६१३७ नम्बरको बस चालक रामेछापको उमाकुण्ड गाउँपालिका २ का २६ बर्षिय लाल बहादुर कार्की र बागमती प्रदेश ०३ – ००१ च २०६४ नम्बरको डीआई गाडिका चालक पुर्वी नवलपरासीको कावासोती १३ का २५ बर्षिय सागर बि.क. लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका हुन् ।

 

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी प्रभाग बलम्बुमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको हो । लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न चेकजाँच अभियानलाई तिव्रता दिईएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।