२०८० चैत्र १६ , शुक्रवार

चण्डी माई मन्दिरमा नवदुर्गा पुजा तथा चण्डी पाठ

सुनाखरी न्युज / काठमाडौं । पोखरा । पोखरा । पोखरा महानगरको मुटु पोखरा–९, दरबारथोक (न्युरोड र नयाँबजारको विच भागमा अवस्थित) मा रहेको ऐतिहासिक तर प्रचारप्रसारको अभावमा पछाडि परेको चण्डी माई मन्दिरमा नवदुर्गा पुजा तथा चण्डी पाठ सोमबार घटस्थापनाको दिनदेखि सुरु भएको छ ।

 

चण्डी माई सेवा समितिको निर्णय बमोजिम गठन भएको नवदुर्गा पुजा तथा चण्डी पाठ मुल आयोजक समितिको आयोजनामा भएको दुर्गा पुजाको कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गर्नु भएको थियो । मन्त्री थापाले स्थानिय आवश्यकता हेरी स्थानिय तथा प्रदेश सरकारले सहयोग गर्ने भएकोले पुजालाई निरन्तरता दिन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

सो अवसरमा टोल बिकास संस्थाका उपाध्यक्ष सुर्यभक्त सिग्देल, चण्डीका आमा समुहकी अध्यक्ष गंगा सुवेदी, चण्डी माई मन्दिरका पुजारी प्रकाश अधिकारीले पुजा आयोजना हुनु सकरात्मक रहेको वताउँदै भक्तजनहरुलाई सक्रिय सहभागीता भइदिन आग्रह गरेका थिए । चण्डी माइ मन्दिर परिसरमा २०६९ सालदेखि दुर्गा पुजा गरिदै आएको छ भने मन्दिरमा निर्माण गरिएका दुर्गा, गणेश, कुमार, सरस्वती, लक्ष्मी लगाएतका देवदेवीका स्थायी मुर्तिहरु बनाइएकोले श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गरेको पुजा व्यवस्थापन समितिका सदस्य पत्रकार कृष्ण रानाभाटले वताए ।

सो अवसरमा श्रद्धालु भक्तजनहरुको लागि प्रसाद व्यवस्थापन चण्डिका आमा समुहले, चियापत्ति र चिनि एल. ए. सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल शालिकराम अधिकारीले र पिउने पानीको व्यवस्थापन वाइ सर्भिस क्लब अफ पोखरा नेपालले गरेको थियो । समितिका संयोजक बुद्धि बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत टेकबहादुर भुजेलले र संचालन सचिव बिष्णु बहादुर खवासले गरेका थिए ।