२०८१ बैशाख १३ , बिहिवार

मनास्लु हिमालमा हिमपहिरो

सुनाखरी न्युज / गोरखा । गोरखाको मनास्लु हिमालमा गएको हिमपहिरोमा परेर कम्तिमा ३ जना नेपाली घाइते भएका छन् । ८ हजार १ सय ६३ मिटर अग्लोे मनास्लु हिमालको ३ नम्बर र ४ नम्वर बेसक्याम्पको बीचमा सोमबार बिहान साढे ११ बजेतिर हिमपहिरो गएको थियो ।

उक्त क्षेत्र करिव ६ हजार ८ सय मिटरको उचाइमा रहेको बताइन्छ । माथिल्लो बेसक्याम्पका लागि सामान ओसार्दै गरेका १३ जना हिमपहिरोमा परेकोमा सबैको उद्दार गरिएको सातोरी एड्भेन्चरका ऋषि भण्डारीले बताउनुभयो । हिमपहिरोमा परेकामध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी आएको उहाँको भनाइ छ । हिमपहिरोमा परेकाहरुको उद्दारका लागि ३ वटा हेलिकप्टर मनास्लु क्षेत्र पुगेका छन् ।

एउटा हेलिकप्टर मनासलु बेसक्याम्पसम्म पुगे पनि अन्य भने खराब मौसमका कारण सामागाउँ र चुम उपत्यकामा रहेका छन् । गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले हिमपहिरो गएपछि केही उडान कम्पनीले प्रशासन कार्यालयबाट उद्दारका लागि उडान अनुमति लिएको जानकारी दिनुभयो । तर हिमपहिरो गएको स्थानसम्म हेलिकप्टर पुग्न नसकेको उहाँको भनाइ छ ।