२०८१ बैशाख ८ , शनिवार

नेपाल एपीएफ स्कूलको अभिभावक दिवस सम्पन्न

सुनाखरी न्युज / काठमाडौं । नेपाल एपीएफ स्कूल कीर्तिपुरको ‘अभिभावक दिवस–२०७९’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लव हलमा असोज ९ गते विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।

 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विद्यालयको गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरुलाई पुरस्कार प्रदान गर्नुका साथै विद्यालयको छात्रवृत्ति अक्षय कोषमा सहयोग गर्नुहुने विभिन्न महानुभाव तथा सो स्कुलमा दश बर्ष सेवा अवधि पूरा गर्नुहुने शिक्षक, शिक्षिकाहरुलाई कदर पत्र समेत प्रदान गर्नुभयो । कार्यक्रममा महानिरीक्षक अर्यालले भविष्यका कर्णधार बिद्यार्थीबर्गले उच्च अनुशासनमा रहि शिक्षा आर्जन गर्न मेहनतकासाथ लाग्नुपर्ने उल्लेख गर्नुहुँदै शिक्षक, शिक्षिकाहरुले समेत अनुशासन कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले बिद्यार्थीहरुको व्यक्तित्व निर्माणमा नेपाल एपीएफ स्कुल अझ बढी सकृय रहने कुरामा विश्वास व्यक्त गर्नुहुँदै नेपाल एपीएफ स्कुललाई सात वटै प्रदेशमा स्थापना गर्ने संगठनको लक्ष्य समेत रहेको बताउनुभयो ।

 

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ स्कूलले बिद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्न मेहनतका साथ लागिरहेको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल एपीएफ स्कुलले उत्कृष्ट परिणाम हासिल गर्नुका साथै अतिरिक्त क्रियाकलापहरुमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो । कार्यक्रममा सो स्कुलका विद्यार्थीहरुले गायन, नृत्य, नाटक लगायतका विभिन्न सांस्कृतिक प्रस्तुती गर्नुकासाथै आफुमा निहित प्रतिभाहरु प्रदर्शन गरेका थिए ।।