२०८० चैत्र १५ , बिहिवार

उत्तरी नाका रसुवागढीबाट आयात बढ्दै

सुनाखरी न्युज / रसुवा । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्वि भएको छ । कोभिड सङ्क्रमणपश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात गरिरहेको रसुवागढी नाकामा हाल २१ वटा सम्म कन्टेनर आउन थालेको जनाइएको छ ।

 

सामग्री लिनका लागि नेपाली कन्टेनर चीनको केरूङ तथा पाङ्सिङसम्म दैनिक सयौँको सङ्ख्यामा पुग्ने गरेका थिए । कोभिड–१९ को सङ्क्रमण भएपश्चात मितेरी पुलबाट मानवको आवतजावत ठप्प बनाएपछि अहिले चिनियाँ पक्षले नै रसुवागढी पुर्‍याउने गरेका छन् । चिनियाँ टेलरले सामान झार्ने गरेको र चीनको उत्पादक कम्पनीदेखि रसुवागढीसम्म ढुवानीका लागि चिनियाँ मुसा टान्सपोर्टसमेतका ढुवानी कम्पनी कार्यरत रहेको बताइएको छ ।

 

चीनमा कोभिड सङ्क्रमणपश्चात बन्द भएको सामान आयात पुनः सञ्चालन हुँदा तीन कन्टेनरबाट सुरू भएको छ, नौ र १४ हँुदै हाल २१ चिनियाँ कन्टेनरले रसुवागढी नाकामा सामान पु¥याउने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीले बताएका छन् । गत भदौ ३० गतेबाट पुनः सञ्चालन भएको आयात सामग्रीमा अधिकांश तयारी पोशाक रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनर हुने र १० दिनको अन्तरालमा एक सय ५८ चिनियाँ ठूला कन्टेनरले रसुवागढीमा सामान पुर्‍याइसकेको सीमा सुरक्षाकर्मीले बताएका छन् ।

 

हालसम्म आयात भएका सामग्रीमा एक सय १९ टिपर तयारी पोशाक, ३५ टिपर नेपालमा सञ्चालित जलविद्युत्‌का उपकरण र चार टिपर ओखर रहेको बताइएको छ । कोभिडका कारण केरूङमा रोकिएका सामग्री ढिलै भए पनि नेपाल भित्रिँदा नेपाली व्यापारीलाई केही हदसम्म सहयोग मिलेको व्यवसायी धर्म पौडेलले बताउनुभयो । रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्री छिटोभन्दा छिटो काठमाडौँ पठाउन भन्सार परीक्षण द्रुतरूपमा अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।