२०८० चैत्र १६ , शुक्रवार

सहमतिपछि डा. केसीले अनशन तोड्दै

सुनाखरी न्युज / काठमाडौं । डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । ७ बुँदे मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गर्नेछन् ।

 

शनिबार साढे ७ बजे शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा. केसीले अनशन तोडेको घोषणा गर्ने उनका सहयोगी तथा वार्ता टोलीका सदस्य प्रितम सुवेदीले जानकारी दिए । शनिबार दिउँसो पनि डा. केसीको पक्षमा माइतीघरमा पनि प्रदर्शन भएको थियो । पछिल्लो पटक कैलालीबाट अनशन सुरु गरेका डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई असोज ५ गते थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनी अहिले पनि महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचाररत छन् ।

 

केसीका माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव रोशन पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य छन् । केसी पक्षको वार्ता टोलीमा भने अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र सुवेदी सदस्य छन् । डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेपछि सरकारले उनीसँग सहमति गर्न वार्ता टोली बनाएको हो ।

 

देशभरका सरकारी अस्पतालमा बेडअनुसार दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्स-रेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरु उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराईपर्ने माग अघि सारेका छन् । २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल संचालन गरिनुपर्ने उनको माग छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्नेलगायत माग सरकारसँग उनले राखेका छन् ।