२०८० चैत्र १५ , बिहिवार

बृहत् इञ्जिनियरिङ एक्सपोमा रोवर्टको घम्साघम्सी हेर्न पाइने

सुनाखरी न्युज / काठमाडौं । आगामी मंसिरको अन्तिम साता काठमाण्डौंमा रोवर्टको घम्सा–घम्सी हेर्न पाइने भएको छ । इञ्जिनियर भ्लग्स अर्गानाइजेसनको आयोजनामा आगामी मंसिर २३ र २४ गते काठमाण्डौंमा आयोजना हुन लागेको बृहत् इञ्जिनियरिङ एक्सपोमा यस्तो घम्सा–घम्सी हेर्न पाइने भएको हो ।

 

काठमाण्डौंको कलंकीस्थित एड्भान्स इञ्जिनियरिङ कलेजमा २ दिनसम्म चल्ने एक्पोमा आकर्षणका रुपमा रोवर्ट वार , रोवो सकर र ईन्जिनियरस नाइट साङ्गितिक कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष आषुतोष कर्णले जानकारी दिए । यसका साथै प्रर्दशनीमा कम्प्यूटरको सफ्टवेयरसम्बन्धी सुरक्षा ह्याक्याफन, विभिन्न कलेज तथा विश्वविद्यालयले तयार पारेका सिभिल्,इलेक्ट्रोनिक्स,अर्किटेक्चर प्रोजेक्ट सामाग्री लगायत प्रर्दशनीमा राखिने छन् ।

 

विशेषगरि इञ्जिनियरिङ संकायमा अध्ययनरत विद्यार्थीहरुका लागि लक्षित गर्दै आयोजना गर्न लागिएको प्रर्दशनीमा सिभिल, इलेक्ट्रीकल, मेकानिकल लगायत सबै क्षेत्रका इञ्जिनियरहरुको सहभागिता रहने छ । उनले भने, ‘हामीले विषेश गरि इञ्जिनियरिङका क्षेत्रमा पछिल्लो समय भएको प्रविधिको विकास र यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी आदनप्रदान गर्न कार्यक्रम गर्न लागेका हौ । यसमा कक्षा १२ देखि नै यस विषयप्रति विद्यार्थीहरुमा रुची बढाउने पनि कार्यक्रमको अर्को उद्देश्य हो ।’सातै प्रदेशका क्याम्पस र विश्वविद्यालयमा इञ्जिनियरिङ विषय अध्ययन गरिहेका विद्यार्थीहरुको सहभागिता हुने प्रर्दशनीमा उत्कृष्ट प्रर्दशनी गर्ने समुहलाई नगद पुरस्कारका साथै आई.आई.टी बम्बईको टेकफेस्ट इन्टरनेश्नलमा थप अध्ययनका लागि जाने अवसर प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष कर्णले बताए ।

 

उनले सुचना प्रविधि र इञ्जिनियरिङ क्षेत्रमा चासो राख्ने सबैलाई प्रर्दशनी फलदायी हुने भएकाले समय मिलाएर अवलोकनका लागि आउन आम सर्वसाधरणहरुमा पनि अनुरोध गरेका छन् । ८० वढी इञ्जियरिङ सम्बन्धी स्टल रहने प्रर्दशनीमा सहभागिताका लागि दर्ता प्रक्रिया शुरु भएको अध्यक्ष कर्णले जानकारी दिए । प्रर्दशनीमा १५ हजार बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।