२०८१ बैशाख ७ , शुक्रवार

डेंगु परीक्षणमा मनपरी शुल्क, ५०० ले पुग्नेमा २६०० रुपैयाँसम्म असुल्दै अस्पताल

सुनाखरी न्युज/काठमाडौं ।

डेंगुको प्रकोप व्यापक बन्दै जाँदा परीक्षणका नाममा प्रयोगशालाहरूले पाँच गुणासम्म बढी शुल्क असुलिरहेका छन् । अस्पतालहरूले पनि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा प्रतिव्यक्ति ५०० देखि २६०० रुपैयाँसम्म उठाइरहेको विवरण प्राप्त भएको छ ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारी कीटको मूल्य र अन्य खर्च जोड्दा पनि ५०० रुपैयाँसम्ममा डेंगुको परीक्षण गर्न सकिने बताउँछन्, तर सरकारी प्रयोगशालाहरूले नै २६०० सम्म असुलिरहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ८००, वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५०० लिइरहेका छन् । यसरी सरकारी प्रयोगशालाबाटै बिरामी ठगिएको देखिन्छ । डेंगु परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र भक्तपुर अस्पतालको छुट्टाछुट्टै दर छ ।

 

त्रिवि शिक्षण अस्पतालले ओपीडीमार्फत आउने सेवाग्राहीको डेंगु परीक्षण गर्दा १००० शुल्क लिने गरेको सूचना अधिकारी रामविक्रम अधिकारीले बताए । भक्तपुर अस्पतालले ७५० र निजामती अस्पतालले ८०० लिने गरेको छ ।

निजीतर्फ सुमेरु अस्पतालले २४००, ग्राण्डी अस्पतालले २६००, स्टारले १८००, नर्भिक अस्पताल र भेनसले १२०० र हृयाम्सले १७०० लिने गरेका छन् ।

विज्ञहरू परीक्षण निःशुल्क गरेर व्यापक बनाए मात्र डेंगु प्रकोप नियन्त्रणमा आउने बताउँछन् ।

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर निजी प्रयोगशालाले परीक्षण शुल्क २५०० सम्म लिनु गलत भएको बताउँछन् । परीक्षण शुल्कमा मनपरी भएको गुनासो आएपछि वैज्ञानिक ढंगले शुल्क तोक्न र अनुगमनका लागि गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको उनले बताए ।

स्वास्थ्यमन्त्री भवानी खापुङले भोलि सोमबारसम्ममा अनुगमन गरेर रिपोर्ट पेश गर्न निर्देशन दिएको र त्यसपछि परीक्षण शुल्क निर्धारण हुने प्रवक्ता डा. ठाकुरले बताए ।

कोरोना महामारीमा प्रयोगशालाहरूले अधिक शुल्क लिएका थिए । सरकारले शुल्क निर्धारण गरेपछि परीक्षण सहज बनेको थियो ।