२०८० चैत्र १५ , बिहिवार

नेपाल यूएई चेम्बरमा नयाँ कार्यसमिति, लगानी र व्यापार प्रवर्द्धनको आग्रह

सुनाखरी न्युज/ काठमाडौं । नेपाली युवाका लागि प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपालले ठूलो व्यापार, पर्यटन र लगानीको सम्भावनाको दोहन गर्न पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

 

नेपाल–यूएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको छैटौं वार्षिक साधारण सभामा बोल्दै उनीहरुले यूएईसँगको ठूलो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई यहाँको राम्रो रणनीतिका लागि सुझाव दिए । दुई देशबीचको व्यापार असन्तुलित रहेको र त्यसका लागि नेपाल सरकारले विशेष पहल गर्नुपर्ने पनि उनीहरुको भनाइ छ । गत आर्थिक वर्षमा नेपालले यूएईबाट ४७.९ अर्बको आयात गरेको थियो भने निर्यात करीब ४६ करोड मात्र थियो ।

 

नेपालका लागि यूएईका राजदूत सइद हमदान अलनक्बीले नेपालको सामान र पर्यटन प्रवद्र्धनका लागि यहाँको सरकार र व्यवसायीहरुले यूएई सरकार त्यहाँका व्यवसायीसँग सहकार्य गर्नुपर्ने बताए । । यूएईका पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ छ । विशेषगरी आप्रवासी श्रमिकका लागि सीप तालिम दुई देशबीचको एजेण्डा भएको भन्दै उनले यही क्षेत्रमा काम गर्न चाहेको समेत जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले दुई देशबीचको सम्भावित सहयोगका आर्थिक क्षेत्र पहिचान गरी सहकार्य गर्न सुझाव दिए । यूएईमा नेपालको निकासीमा बाधा पु¥याउने प्रमुख अवरोध नेपालले पहिचान गर्नुपर्ने उनले बताए ।

 

त्यसैगरी, नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोद सेठियाले नेपालमा प्रशस्त आकर्षक गन्तव्य भए पनि सम्भाव्यताको तुलनामा निकै कम इमिरातीहरुले नेपाल भ्रमण गर्ने बताए । “इमिरातीहरू नेपालमा आगमनमा भिसा पाउन योग्य भए पनि उनीहरु यहाँ आएका छैनन्,” उनले भने । नेपाल यूएई चेम्बरका अध्यक्ष पवनकुमार अग्रवालले नेपालबाट तरकारी, फलफूल, खानेपानी, लत्ताकपडा, गलैंचा, चियाकफी, फेल्ट वस्तु, पश्मिना सल लगायतका वस्तु निकासीको प्रचुर सम्भावना रहेको बताए ।

 

यूएईमा नेपाली सामानको निकासी प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासका लागि उनले आग्रह गरे ।“यूएईमा करिब साढे तीन लाख नेपालीहरूको बलियो समुदाय छ जुन नेपाली उत्पादन र सेवाहरूको लागि राम्रो बजार हो । हामी यस सम्बन्धमा काठमाडौंस्थित यूएई दूताबासको पनि सहयोग अपेक्षा गछौंं,“ अग्रवालले भने। अग्रवालले नेपालबाट यूएईमा अर्गानिक फलफूल र तरकारी निकासीमा थप जोड दिए । यूएई जाने नेपाली कामदारको सीपमा सुधार गर्न नेपालमा सीप विकास केन्द्रलाई सहयोग गर्नु दुई देशबीचको आपसी सहकार्यको क्षेत्र हुनसक्ने उनको भनाइ छ । अग्रवालले दुई देशबीचको व्यापार आदानप्रदानलाई तीव्रता दिनुपर्ने बताए ।

नयाँ कार्यसमिति चयन
छैटौं वार्षिक साधारणसभाले पवनकुमार अग्रवालको अध्यक्षतामा चेम्बरको १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा जीवन भण्डारी र अखिल चापागाईं छन् भने महासचिवमा शिवकुमार अग्रवाल, कोषाध्यक्षमा प्रेम पाण्डे र सचिवमा उमेश रायमाझी निर्वाचित भएका छन् ।

 

त्यस्तै कार्यसमिति सदस्यमा अनुज रिमाल, अम्बिका शर्मा, ज्योत्सना श्रेष्ठ, चन्द्र टण्डन, समिर थापा, निशानराज भण्डारी र रतन केडिया रहेका छन् ।