२०८१ बैशाख १२ , बुधवार

नेपाल टेलिकमले शुक्रबारदेखि इ-सिम दिने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले भदौ ३१ गते शुक्रबारदेखि आफ्ना ग्राहकहरूलाई इ-सिम वितरण गर्ने भएको छ। कम्पनीका प्रवक्ता शोभन अधिकारीले शुक्रबारदेखि इ-सिम वितरण गरिने जानकारी दिए।

 

टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आफ्ना ग्राहकहरूलाई निःशुल्क इ-सिम वितरण सुरू गर्ने भएको हो। इ-सिम चल्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन्। कम्पनीका अनुसार हाल भौतिक सिमकार्ड प्रयोग गरिरहेका पोस्टपेड र प्रिपेड नम्बरका सिमलाई निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ। त्यसैगरी नयाँ पोस्टपेड नम्बर लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ-सिम दिइने छ। नयाँ प्रिपेड नम्बरका लिने ग्राहकलाई भने अहिले यो सुविधा उपलब्ध छैन।

 

इ-सिम चल्ने मोबाइल सेट भएका पुराना ग्राहकले सिम लिन आवश्यक फारम भरेर बुझाउनु पर्नेछ। इ-सिम प्रयोगमा आएपछि सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक इ-सिमलाई अन्य डिभाइस तथा स्मार्टवाच र यस्तैखाले उपकरणमा समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। इ-सिमको पूरा रूप इम्बेडेड सबस्क्राइबर आइडेन्टिटी मोड्युल हो। बोलिचालीको भाषामा यसलाई इलेक्ट्रिक सिम पनि भन्न सकिन्छ।

इ-सिमले मोबाइल सेटलाई दूरसञ्चार सेवा प्रदायक कम्पनीको नेटवर्कसँग कनेक्ट गर्छ। अहिले प्रयोगमा भएका सिमकार्ड मोबाइलमा राखेपछि नेटवर्कसँग कनेक्ट हुन्छ। इ-सिम भने यो सुविधा भएको मोबाइल सेटमा पहिल्यै राखिएको हुन्छ। त्यसमै सेवा प्रदायकको नेटवर्क कनेक्ट हुने हो। यो सानो भए पनि यो हराउने, भाँचिने चिन्ता हुँदैन। त्यस्तै यसको प्रतिलिपि नम्बर पनि निकाल्न मिल्दैन। ‘फोन हराए इ-सिमको मद्दतले फोन कुन ठाउँमा छ भन्ने पत्ता लगाउन पनि तुलनात्मक रूपमा सजिलो हुन्छ,’ प्रवक्ता अधिकारीले भने।