२०८१ बैशाख २९ , शनिवार

चालु आर्थिक वर्ष २०७९-८० को पहिलो महिना साउनमै शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा

सुनाखरी न्युज/ काठमाडौं ।

मुलुकको शोधनान्तर स्थित चालु आर्थिक वर्ष २०७९-८० को पहिलो महिना (साउन) मै घाटामा गएको छ । मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थित घाटामा भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७८-७९ को समीक्षा अवधिको तुलनामा भने शोधनान्तर स्थिति केही सुधार भएको हो । सो महिनामा ३८ अर्ब ७५ करोड रुपैयाँले शोधनान्तर स्थिति घाटामा थियो ।

 

अमेरिकी डलरमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति यस आवमा भने १७ करोड ७७ लाख डलरले घाटामा गएको हो ।

 

साउनमा चालु खाता १६ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो आवको यस महिनामा चालु खाता ४७ अर्ब २९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यस महिनामा ३९ करोड ७४ लाखले चालु खाता घाटामा रहेकोमा यस वर्ष १२ करोड ७७ लाखले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पूँजीगत ट्रान्सफर साउनमा १७.७ प्रतिशतले बढेर ८० करोड ३ लाख कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोडले ऋणात्मक रहेको छ ।