२०८० चैत्र १६ , शुक्रवार

पुर्व वडाध्यक्ष पौडेलको निधन

शिशिर पौडेल/ पोखरा । पोखरा महानगरपालिका वडा नं १९ घार्मीका पुर्व वडाध्यक्ष टीकाराम पौडेलको निधन भएको छ। साविकको लामाचौर गा बि स वार्ड नं ८ मा २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट भारी मत ल्याई निर्वाचित भएका पौडेलको ८१ वर्षको उमेरमा बुधवार राती आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

 

लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित पौडेलको विहिबार विहान गोस्ते घाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ। पौडेलको पार्थिव शरीरमा कान्छा छोरा खेमराज पौडेलले दागबत्ती दिएका थिए। यसअघि स्वर्गीय पौडेललाई श्रद्धाञ्जली अर्पण गर्न एमाले नेता जगत विस्वकर्मा, गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बराल जिवन, एमाले नेता दामोदर वैरागी, निवर्तमान वडाध्यक्ष शोभा मोहन पौडेल, माअाेवादी केन्द्रका नेता भिम विश्वकर्मा, एमाले नेता एवं पूर्व जि वि स सदस्य हितराज शर्मा, विद्यार्थी नेता अर्जुन अधिकारी, वडा सदस्य विकास आचार्य लगायतका गाेस्ते घाट पुगि श्रद्धाञ्जली व्यक्त गरेका थिए।

 

लामो समय घार्मीको चौतर्फी विकासमा योगदान पुर्याएका पौडेलको निधनले एक सच्चा राजनितिज्ञ तथा सामाजिक व्यक्तित्वलाई गुमाएकाे छ। स्वर्गीय पौडेलका श्रीमती, २ छोरा, २ बुहारी २ नाती, २ नातिनी र १ पनाति छन्। स्वर्गीय पौडेलको निधन प्रति नेकपा एमाले वडा कमिटी पोखरा १९ ले शोक व्यक्त गरेकाे छ।