२०८१ बैशाख ८ , शनिवार

उपत्याका लगायत बिभिन्न सहरमा डेंगी निकै फैलिएको छ, यी कुरा ख्याल गर्नुहोला

रबिन्द्र समीर- काठमाडौं उपत्याकालगायत बिभिन्न सहरमा डेंगी निकै फैलिएको छ | डेंगी भएमा यी कुरा ख्याल गर्नुहोला |

१. ज्वरो तथा दुखाइको लागि फ्लेक्सन, ब्रुसेट, निम्स लगायत पेनकिलर नखानुहोला | यी औषधिले अल्सर गराउने तथा रक्तश्राब गराएर खतरा हुनसक्छ | ज्वरो र दुखाइको लागि पारासिटामोल मात्र सेवन गर्नुहोला |
२. बान्ता भएमा बान्ता रोक्ने औषधि खानुपर्दछ |
३. अधिकांश संक्रमितलाई बान्ता हुने / वाकवाकी हुने हुन्छ | धेरै संक्रमितले बान्ता हुने डरले खाना तथा पानी नखाने गर्दछन | यो निकै घातक हुन्छ | जति धेरै झोलिलो तथा पोषिलो खायो, त्यति नै छिटो निको हुन्छ | मुखबाट खान नसकेमा अस्पताल गएर सलाइन दिनुपर्ने हुन्छ |
४. द्वितीय संक्रमण नभएको अवस्थामा एन्टिबायोटिक सेवन गर्नु पर्दैन |
५. मेवाको पात जथाभावी नखानुहोला | यसले डेंगी निको गर्दैन | प्लेट्लेट्स कमी भएमा चिकित्सकको सल्लाह अनुसार बढीमा ३० मिलि प्रशोधित मेवाको पातको रस खान सकिन्छ | प्लेट्लेट्स बढाउन यसका ट्याब्लेट पनि पाइन्छ |
६. दाल, जाउलो, गेडागुडीको रस, दुध, नरम खाना, फलफूल ( मेवा, किवी, अनार, जुनार, स्याउ, नरिबलको पानी, माल्बोक केरा, काँक्रो ), हरियो सागसब्जी, पाकेको फर्सी, चुकन्दर, पालुंगो र मेथीको साग पर्याप्त खानुपर्दछ |
७. शरीरमा पानीको कमी नहोस् भनेर सचेत हुनुपर्दछ | सादा पानी, जीवनजल, कागती पानी पटकपटक खानुपर्दछ |
८. १ दिन बिराएर प्लेट्लेट्स चेक गर्नुपर्दछ |
९. नाक, मुख, गिंजा, छाला, मलद्वार, मुत्रद्वारआदिबाट रगत आएमा, बान्तामा रगत देखिएमा, झोलिलो खाना खान नसकेमा, ज्वरो नियन्त्रण नभएमा तुरुन्त नजिकको अस्पतालमा जानु पर्दछ |
१०. बान्ता, पखाला, एलर्जी आदिको लागि चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्दछ |
११. खाना र पानी प्रशस्त पेलेमा डेंगीलाई सजिलै जित्न सकिन्छ | यसको मृत्युदर निकै कम भएकोले आत्तिनु पर्दैन |
१२. डेंगीमा धेरै मुख बार्नु पर्दैन | पच्ने खाना खान सकिन्छ | पिरो, मसलादार खाना, घ्यू, बोंसो, अल्कोहल नखानुहोला | धेरै गुलियो नखानुहोला |
१३. डेंगीको ज्वरोमा मनतातो पानी पट्टी लगाउने, ज्वरो १०० डिग्री आएमा पारासिटामोल खाने, झोलिलो खाना खाने गरेर ज्वरोलाई नियन्त्रणमा राख्नुपर्दछ | १०१ भन्दामाथि तापक्रम पुर्याउनु हुँदैन |
१४. ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, बिमिरा आउने केहि दिन रहन्छ | नआत्तिनुहोला | औषधि र खानपिनले निको हुन्छ |
१५. आराम गर्नुहोला | शारीरिक तथा मानसिक धपेडी नगर्नुहोला |
१६. दांत ब्रस नगर्नुहोला | मंजन औंलामा राखेर दांत सफा गर्नुहोला ताकी घाउ नहोस् |
१७. डेंगी संगै बसेर सर्दैन | तपाइंलाई टोकेको लामखुट्टेले परिवारजनलाई टोकेमा डेंगी सर्दछ | तसर्थ राति तथा दिउँसो पनि झुलभित्र सुत्नुहोला |
१८. चिकित्सकको सिफारिसबिना पारासिटामोलबाहेक कुनैपनि औषधि नखानुहोला |
१९. लाम्बाहुले कपडा तथा मोजा लगाउनुहोला | ओडोमसलगायत लामखुट्टे भगाउने क्रिम लगाउनुहोला |
२० . खोज र नष्ट गर अभियानको लागि लामखुट्टे हुर्किने / प्रजनन हुने ठाउँ अर्थात पानी हटाउने, औषधि छर्किने गर्नुहोला |