२०८१ बैशाख १४ , शुक्रवार

आजबाट देवी नाचको सार्वजनिक प्रदर्शन सुरु

सुनाखरी न्युज/ काठमाडौं । इन्द्रजात्राका अवसरमा डवलीहरुमा प्रदर्शन गरिने दी प्याखं (देवी नाच) आजबाट सार्वजनिक प्रदर्शन सुरु भएको छ । यस क्रममा किलागल डवलीमा नाच प्रदर्शन भयो ।

 

कायाअष्टमीका दिन ‘पिदने’ नामको तेस्रो पूजा गरेर मुकुट, मुकुण्डो, घुँघुरा र पोशाकसहितको नृत्य गरिएको हो । किलागलमा यो नाच देखाउनुलाई यस बर्षका लागि देवी नाच सार्वजनिक प्रदर्शनको तयारी सकियो भन्ने सन्देश दिनु हो । श्रावण शुल्क चौथीका दिन पहिलो पूजा गरेर नृत्य प्रशिक्षण सुरु हुन्छ । भाद्र शुक्ल चतुर्थीका दिन दोस्रो पूजा गरिन्छ । यसलाई ‘घँगलासि’ भनिन्छ । यसमा पात्रहरुलाई दैवी शक्ति प्राप्त होस् भनेर पूजा गर्ने गरिएको छ । यो नृत्य इन्द्रध्वज उत्थान गर्नुअगाडि बसन्तपुरको कागेश्वरी महादेव मन्दिर अगाडिको डवलीमा नचाइन्छ । यसपछि इन्द्रध्वज ठड्याएपछि इन्द्रजात्रा औपचारिक रुपमा सुरु भएको मानिन्छ ।

 

इन्द्रजात्रा (क्वनेयाः) का दिन जैसीदेवल अगाडिको डवलीमा नाच देखाइन्छ । कुमारीको रथ यस ठाउँमा आएपछि रथ रोकेर कुमारीलाई पनि नाच देखाउने चलन छ । यसैगरी येँया पूर्णिमाका दिन बाङ्गेमुढा र इन्द्रचोकको डवलीमा नचाइन्छ । जात्राको अन्तिम दिन नानिचायाः का दिन किलागल डवलीमा अन्तिम पटक प्रदर्शन गरिन्छ । त्यसपछि एक बर्ष यो नाच देखाइँदैन । देवी पात्रहरुमा भैरव, कुमारी, चण्डी, दैत्य, कवं (कङ्काल), बेताः (बेताल) र ख्याः (ख्याक) हुन्छन् । नाचले असत्य माथि सधै सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । अन्य परम्परागत नाचहरुमा दैत्यको वध गरेको देखाइन्छ । यस नाचमा पराजित दैत्य भागेको देखाइन्छ । इन्द्रजात्राका अवसरमा नचाइने नाचहरुमध्ये यो एउटा हो । पुलुकिसी, आकाश भैरव, लाखे जस्ता नाच कुमारीको रथ अगाडि पछाडि नचाइन्छ भने यो देवी नाच विभिन्न डवलीहरुमा मात्र नचाइन्छ ।

 

विभिन्न मुद्रा र आसनमा नचाइने यो नाच, शान्ति होस्, रोगव्याधी नहोस्, विनाशकारी र प्रलयकारी घटना नहोस् भन्ने कामनासहित प्रस्तुत गरिन्छ । यसमा युद्ध, दैत्य, हित्वने पह, शान्ति, चजा, ग्वारा, शुन्यजस्ता विभिन्न नृत्य हुन्छन् । नाच मालश्री, धनाश्री, कन्हः चजा, सोरथ, भुपारीजस्ता रागमा आधारित हुन्छ । सातजना देवता, सातवटा बाजा र सात तालमा नाच्नु यस नाचको बिशेषता हो । नाचका समयमा खिं बाजा, धाः बाजा, नाय्खिं, छु स्याः, सिन्याल, ताः, भुस्या, पाँगा लगायत बाजा बजाइन्छ ।