२०८१ बैशाख ७ , शुक्रवार

विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दबाट यातायात र शैक्षिक क्षेत्र प्रभावित

सुनाखरी न्युज/ काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज मंगलबार आह्वान गरेको बन्दका कारण शैक्षिक क्षेत्र र यातायात प्रणाली प्रभावित भएको छ ।

 

राजधानीबाट बाहिर जाने सवारी साधनहरु मंगलबार बिहान ज्यादै न्युन मात्रामा गएका छन् भने राजधानी बाहिर पनि लामो दूरीका सवारीहरु कमै मात्रामा चलेका छन् । राजधानीभित्र बजार खुलेको र यातायात चलेको भए पनि अधिकांश शैक्षिक संस्था मंगलबार बन्द रहेका छन् । राजधानी बाहिरका शहरहरुमा भने यातायात पनि ज्यादै न्युन मात्रामा चलेको प्रहरीले जनाएको छ ।

 

यस्तै, कैलालीमा बन्दकर्ताले दुई ठाउँमा विष्फोटक पदार्थ राखेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलको सडकखण्ड र हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको कैलाली प्रहरीले जनाएको छ । शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली गईरहेको छ ।

 

बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न नसकेको पनि प्रहरीले जनाएको छ । सोमबार राति छुटेका गाडीहरुलाई भने प्रहरीले स्कटिङ गरेर गन्तव्यसम्म पठाइरहेको छ । एमसीसी सम्झौता खारेज, नागरिकता विधेयक फिर्तालगायतका माग राखेर विप्लव समूहले मंगलबार नेपाल बन्द आह्वान गरेको हो ।