२०८१ बैशाख ७ , शुक्रवार

एकै महिनामा ४५ अर्ब घट्यो वाणिज्य बैंकहरूको डिपोजिट

सुनाखरी न्युज/ काठमाडौं ।

वाणिज्य बैंकको डिपोजिट गत साउन महिनामा ४५ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एसोसिएसनले साउन महिनाभरिमा बैंकहरूबाट ४५ अर्ब डिपोजिट घटेको जानकारी दिएको हो ।

 

यस्तै, साउन महिनामा बैंकहरूको लगानी भने बढेको छ । साउनको पहिलो साता वाणिज्य बैंकहरूमा ४४ अर्ब ७८ अर्ब रुपैयाँ निक्षेप थियो । जुन, लगातार घटेर साउनको अन्तिम दिन अर्थात ३१ गतेसम्म आइपुग्दा ४५ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ३३ अर्ब रुपैयाँमा आइपुगेको हो ।

साउनको पहिलो साता ४४ खर्ब ७८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको डिपोजिट दोस्रो साता ४४ खर्ब ५० अर्ब रुपैयाँमा आइपुगेको थियो । यस्तै, तेस्रो साता पनि लगातार घटेर ४४ खर्ब ४६ अर्बमा आइपुगेको थियो भने चौथो साता डिपोजिट झनै घटेर ४४ खर्ब २१ अर्बमा आइपुगेको थियो ।

यसैगरी, साउन महिनामा बैंकहरूको लगानी १२ अर्ब बढेको छ । साउनको पहिलो साता वाणिज्य बैंकहरूको लगानी ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो । जुन, ३१ गतेसम्म आइपुग्दा १२ अर्बले बढेर ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको एसोसिएसनले जनाएको छ ।