२०८१ बैशाख १८ , मंगलबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनाखरी न्युज /काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२३ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका-१७ ढल्कु बस्ने सोही महानगरपालिका-२७ असन कमलाक्षीस्थित लिनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष ५८ वर्षीय रामेश्वर श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७६ भदौ १ गतेको फैसलाले ३० दिन कैद र १० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं कपनबाट पक्राउ गरेको हो । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी ज्योति विकास वैंक लिमिटेड असन काठमाडौंमा रहेको बैंक खाताबाट जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाईएको छ ।