२०८१ बैशाख १४ , शुक्रवार

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहको सातौं वार्षिकोत्सव सम्पन्न

सुनाखरी न्युज/  नवलपरासी(पश्चिम) । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक समारोहबीच नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहको सातौं बार्षिकोत्सव सम्पन्न भएको छ ।

 

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले महाविद्यालयद्वारा प्रकाशित ‘युक्ति दर्पण’ स्मारिकाको बिमोचन गर्नुको साथै वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार तथा कदरप्रत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले अपराध अनुसन्धान, शान्ति सुरक्षा एवं अमनचयन कायम गर्दै नागरिक अधिकारको संरक्षण, सम्वर्द्धन गरी काम गर्नुपर्ने प्रहरी कर्मचारीहरूलाई सोही अनुरुपको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्नुपर्ने बताउनुभयो ।

 

 

साथै उहाँले विशेष उद्देश्य सहित स्थापना भएको महाविद्यालयले विविध प्रकारका व्यावसायिक तालिम संचालन गरी छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै महाविद्यालयमा सञ्चालन हुने अन्य सेवाकालीन तथा आधारभूत तालिम समेत स्तरीय र व्यवसायिक रुपमा सञ्चालन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह नवलपरासी(पश्चिम)का प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक मधुसूदन लुइँटेलले उक्त अवसरमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा महाविद्यालय परिसरमा वृक्षरोपण समेत गरिएको थियो ।

 

 

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नारी विकास समितिकी अध्यक्ष होम माया पौडेल आचार्य, सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्याल, जिल्ला प्रशासन कार्यालय नवलपरासी(पश्चिम)का प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी कर्मचारीहरू र प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।