२०८१ बैशाख २६ , बुधवार

सम्झना बिर्सना’ भारतमा प्रदर्शन हुँदै

सुनाखरी न्युज / काठमाडौ- प्रेमकथामा निर्माण भएको चलचित्र ‘सम्झना–बिर्सना’ नेपालपछि अब भारतका शहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गतेदेखि नेपालमा प्रदर्शनमा आएको चलचित्र ९ सेप्टेम्बरदेखि भारतमा रहेका दर्शकमाझ पुग्न लागेको हो ।

 

निर्माता अद्वितीय प्रधानले ‘सम्झना–बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरदेखि दार्जिलिङ, सिक्किम, सिलगुढी, जय गाउँलगायतका स्थानमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी दिए । ‘हामी चरण–चरणमा गरेर चलचित्र रिलिज गर्दैछौँ’ उनले भने, ‘दोस्रो चरणमा ७ अक्टोबरमा आसाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुँदैछ भने तेस्रो चरणमा २१ अक्टोबरमा बाँकी शहरहरूमा प्रदर्शन गर्दैछौँ ।’उनले भारतमा नेपाली चलचित्रको बजार राम्रो रहेको तर अधिकांशले यथोचित तवरले प्रदर्शन गर्न नजानेको बताए । ‘इन्डियामा नेपाली चलचित्रको मार्केट एकदम राम्रो छ । तर, हामीले सही बजार खोज्न सकेका छैनौँ’, उनले भने । उनले आफू नेपाली चलचित्रको बजार विस्तारका लागि दीर्घकालीन साेँचका साथ ‘सम्झना–बिर्सना’मार्फत अघि बढेको सुनाए ।

 

निमेष प्रधान निर्देशित चलचित्र भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिँदैछ । ‘हामीले प्रारम्भिक रूपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौँ,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौँ । नेपाली नबुझ्नेहरूका लागि भने अंग्रेजी सब–टाइटल राखेका छौँ ।’रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनिल थापा, छुल्ठिम गुरुङ र शिशिर राणालगायतको अभिनय छ । ‘सम्झना–बिर्सना’ दार्जिलिङ, सिलिगुढी तथा सिक्किमका रमणीय स्थानमा छायाँकन गरिएको चलचित्र हो ।